जिउछ्वान । अन्तरिक्ष पर्यटनका लागि तयार पारिएको चीनको एक व्यावसायिक अन्तरिक्ष यानले सोमबार उत्तरपश्चिम चीनमा आफ्नो उपकक्षीय परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ ।

प्यारासुटको सहायताले अवतरण गर्ने प्रणाली प्रयोग गर्दै उक्त यानको पुनः प्राप्त गर्न सकिने भाग जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रमा सुरक्षित रूपमा अवतरण गरियो र त्यसपछि सफलतापूर्वक फिर्ता ल्याइयो ।
यस परीक्षण उडानले पृथ्वीमा पुनः प्रवेश गर्दा हुने गतिको नियन्त्रण सफल भएको प्रमाणित गरेको छ । साथै, पुनः प्रयोग गर्न मिल्ने यानको तल्लो चरणको सटीक अवतरण नियन्त्रण प्रविधि प्रदर्शन गरिएको विकासकर्ता चिनियाँ व्यावसायिक अन्तरिक्ष कम्पनी कास स्पेसले जनाएको छ । यसले भविष्यमा अन्तरिक्ष पर्यटन गतिविधि विकासका लागि बाटो खोलेको कम्पनीको भनाइ छ ।
‘लिहोङ-एक वाइ-एक’ नाम दिइएको यस अन्तरिक्ष यान करिब एक सय बीस किलोमिटर उचाइसम्म पुग्न सक्ने क्षमताको छ । कम प्रक्षेपण लागत, उच्च लचकता र प्रयोगात्मक सामग्री फिर्ता ल्याउन सक्ने क्षमता यसका प्रमुख विशेषता हुन् ।
कम्पनीका अनुसार यस यानले तीन सय सेकेन्डभन्दा बढी समयसम्म अत्यन्त स्थिर र बहुउपयोगी प्रयोगात्मक वातावरण उपलब्ध गराउन सक्छ ।
परीक्षणका क्रममा यानले चिनियाँ गुलाबका बीउहरू पनि बोकेको थियो यो अन्तरिक्ष यानलाई बहुपटक प्रयोग गर्न मिल्ने गरी विकास गरिँदै छ । यसले कम लागतमा उपकक्षीय वैज्ञानिक प्रयोग र व्यावसायिक अन्तरिक्ष पर्यटन क्षमतालाई अझ सुदृढ बनाउनेछ ।












