
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोग जाँदैछ ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णयसहित गगन–विश्व समूह अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जान लागेको हो ।
अधिवक्ता राजु कटवालले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न मध्याह्न १२ देखि १ बजेसम्म आयोग जाने तयारी भएको जानकारी दिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।
बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो । उता संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । यससँगै नेपाली कांग्रेस दुई भागमा विभाजित भएको छ ।











