Logo
Logo

कतै रमाउँछ मन, कतै बिरक्तिन्छ 


252
Shares

दसैँ आउनुभन्दा केही दिनअघिदेखि नै विद्युतीय सञ्चारमाध्यममा दसैं गीत घन्किन्छ । त्यसले चाडपर्वको रौनकलाई झनै बढाइदिन्छन् । नेपाली गीतसङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतको विशेष महत्त्व छ । यी गीतले दसैँको खुसी मात्रै होइन, बिछोड, पीडा र परदेशमा रहेका नेपालीको घर फर्किने चाहनालाई समेत समेटेका छन् । 

हिन्दु नेपालीहरू यतिबेला दसैँको रौनकमा रमाइरहेका छन् । अत्यावश्यक सेवाबाहेक अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय बन्द छन् । काम र अध्ययनका सिलसिलामा परदेशिएका धेरै नेपाली अनुकूल मिलाएर घर फर्किएका छन् । गाउँदेखि सहरसम्म दसैँको माहोल छाएको छ। रेडियो, टेलिभिजनदेखि सामाजिक सञ्जालसम्म दसैँ गीत घन्किरहेका छन् ।

सङ्गीत क्षेत्रमा लागेका अधिकांश सर्जकले चाडपर्वलाई समेटेर गीत बनाउने गरेका छन्। दसैँमा बज्ने गीत धेरै छन्। तर, केही गीत यस्ता छन्, जसले हरेक वर्ष दसैँको माहोललाई थप विशेष बनाउँछन्। कतिपय गीतले परिवारसँगको मिलनको खुसी दिन्छन् भने कतिपयले घरपरिवारबाट टाढा रहनुपर्दाको पीडा सम्झाउँछन्। आज हामी दसैँमा धेरै सुनिने यस्तै १० वटा कालजयी गीतको चर्चा गर्दै छौँ।

पहिलो नम्बरमा छ, चलचित्र ‘मुग्लान’को चर्चित गीत ‘दसैँ आयो’।

मालश्री धुनपछि बज्ने चलचित्र ‘मुग्लान’को यो गीतले दसैँ आएको आभास दिलाउँछ। परदेशिएका नेपाली गाउँ फर्किएको, दसैँमा ठूलाबडाबाट टीकासँगै आशीर्वाद लिएको, पिङ खेलेको र गाउँघरमा उमङ्ग छाएको दृश्य यस गीतले सम्झाउँछ। दसैँको खुसी, पारिवारिक भेटघाट र गाउँघरको रमाइलो वातावरणलाई समेटेको यो गीत दसैँका बेला गाउँदेखि सहरसम्म उत्तिकै घन्किने गर्छ।

दसैँको माहोल सुरु हुनासाथ धेरैको मनमा बज्ने अर्को गीत हो– ‘नमुछे आमा दहीमा टीका’।

दसैँ आउनेबित्तिकै रेडियो र टेलिभिजनमा बज्ने यो गीतले नेपालीको मन भावुक बनाउँछ। दसैँमा घरपरिवारसँगै बसेर टीका लगाउने रहर हुँदाहुँदै पनि परिस्थितिका कारण टाढा रहनुपर्दाको पीडा यस गीतमा पोखिएको छ। नारायण रायमाझीले लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजाको संयोजनसहित गाएपछि झनै चर्चित बन्यो।

भारतीय सेनामा कार्यरत नारायण रायमाझीका दाइ लक्ष्मण रायमाझीले सन् १९९९ तिर भारत–पाकिस्तानबीचको कार्गिल युद्धका बेला यो गीत लेखेका थिए। परदेशमा रहेका नेपालीको भावना र घरपरिवारसँगको आत्मीय सम्बन्धलाई समेटेकाले यो गीत आज पनि उत्तिकै मार्मिक छ। दसैँको खुसीसँगै घरपरिवारबाट टाढा रहनुपर्दाको पीडा सम्झाउने यो गीतले हरेक वर्ष धेरैका आँखा रसाउने गर्छ।

त्यस्तै, दसैँको चर्चा गर्दा छुटाउनै नहुने अर्को गीत हो– ‘विछोडको पीडा नसकी खप्न दसैँको बेलामा’।

दसैँसम्बन्धी गीतको कुरा गर्दा धेरै नेपालीको सम्झनामा आउने गीत हो यो। यसको कालजयी धुन र मिठासपूर्ण आलापले दसैँ आइसकेको अनुभूति गराउँछ। दसैँको खुसीसँगै विछोडको पीडालाई समेटेको यो पुरानो गीतले नेपाली जनजीवनको एउटा महत्त्वपूर्ण पाटो बोकेको छ ।

सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङ पुगेर गायिका दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए। त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड भएको यो युगल गीत नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्छ । कुनै समय रेडियो नेपालमा दसैँका बेला निकै बज्ने यो गीत अहिले पनि विभिन्न रेडियो तथा सञ्चारमाध्यममा उत्तिकै सुनिन्छ ।

त्यस्तै, ‘दसैँ नै हो कि यो मेरो दशा’ बोलको गीत पनि दसैँमा धेरै सुनिने गीतमध्ये एक हो ।

दसैँका गीतमध्ये फरक स्वाद बोकेको चर्चित गीत हो यो। योगेश्वर अमात्यको स्वरमा रहेको यस गीतले दसैँको रमाइलो पक्ष मात्रै होइन, बढ्दो महँगीले नेपाली समाजमा पारेको असरलाई पनि उजागर गरेको छ । दसैँ आयो भन्दैमा सबैको घरमा खुसी र समृद्धि आउँदैन। कतिपयका लागि दसैँ खर्चको बोझ र आर्थिक समस्याको कारण पनि बन्ने गर्छ । यही यथार्थलाई गीतले व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

न्यु बज्राचार्यको सङ्गीत रहेको यो गीतका शब्द प्रेम बस्नेतले लेखेका हुन्। विसं २०५० को दशकतिर संवादसमेत समेटेर तयार पारिएको यो गीत दसैँको एउटा परिचित धुन बनेको छ । चाडपर्वको रौनकबीच आम नेपालीले भोग्नुपर्ने आर्थिक कठिनाइलाई सम्झाउने भएकाले पनि यो गीतको सान्दर्भिकता आजसम्म कायम छ ।

अर्को गीत छ– ‘कहाँ हो समुद्रपारि, कर्मले डो¥यायो’।

कर्तव्य निर्वाह गर्ने क्रममा सात समुद्रपारि पुगेका नेपालीको कथा बोल्छ यस गीतले। चलचित्र ‘म तिमीबिना मरिहाल्छु’मा समावेश यो गीतमा संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत सैनिकले दसैँका बेला अनुभव गर्ने पीडा समेटिएको छ ।

साथीभाइसँग रमाउन खोज्दा पनि मन रमाउन नसक्ने, घरपरिवारको सम्झनाले सताउने र चाडपर्वका बेला आफ्नै परिवारसँग हुन नपाउँदाको दुःख यस गीतमा पोखिएको छ । दसैँमा घर फर्किने रहर हुँदाहुँदै पनि जिम्मेवारीका कारण टाढा रहनुपर्ने नेपालीको बाध्यतालाई गीतले भावुक ढङ्गले प्रस्तुत गरेको छ ।

त्यस्तै, अर्को सदाबहार गीत हो– ‘वर्षमा दिनैमा लै लै…’।

सुगम पोखरेलको स्वरमा रहेको ‘वर्षमा दिनैमा लै लै।।।’ दसैँको अर्को चर्चित गीत हो। रवि श्रेष्ठको शब्द रहेको यस गीतमा सुगम पोखरेल स्वयंले सङ्गीत भरेका छन । परदेशमा रहेका दाइले दसैँ र तिहारका बेला घरपरिवारलाई सम्झिएको भाव गीतमा समेटिएको छ ।

दसैँमा छोरा घर फर्किने बाटो हेरेर बसेका आमाबुवा र तिहारमा दाइको पर्खाइमा बसेकी बहिनीको भावना गीतले समेटेको छ। चाडपर्वमा घर फर्किन नपाउँदाको पीडा र परिवारसँग भेट्ने तीव्र चाहना यस गीतको मुख्य भाव हो । परदेशमा काम गर्दै चाडपर्व बिताउनुपर्ने नेपालीको बाध्यतालाई मिठासपूर्ण शब्द र सङ्गीतमार्फत प्रस्तुत गरिएको यो गीतको भिडियो पनि उत्तिकै आकर्षक छ। त्यसैले हरेक दसैँमा यो गीत धेरैको रोजाइमा पर्ने गर्छ ।

त्यस्तै, दसैँको रमाइलो माहोल सम्झाउने अर्को गीत हो– ‘यसपालि दसैँमा ठूलो दाजु आउने रे’ ।

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी चर्चित गीतमध्ये एक हो। दसैँमा घर फर्किने दाजुको पर्खाइ, परिवारमा छाउने खुसी र बालबालिकाको उत्साहलाई यस गीतले सरल ढङ्गले प्रस्तुत गरेको छ । विशेषगरी बालबालिकाले निकै मन पराउने यो गीत दसैँको उमङ्गसँग जोडिएको छ ।

नेपाली गीतसङ्गीतमा फरक पहिचान बनाएका कुल पोखरेलको सम्झनामा अन्य गायकले समेत यो गीतका कभर संस्करण तयार पारेर युट्युबमा राखेका छन् । गायक पोखरेलको सम्झना र दसैँको आत्मीय भावलाई जोड्ने भएकाले पनि यो गीत धेरैका लागि विशेष बनेको छ ।

अब अर्को गीततर्फ लागौँ। ‘यो दसैँमा म घर आइनँ’ पनि दसैँमा धेरै सुनिने गीत हो ।

नेपाली लोकदोहोरी गीतमा दसैँको चर्चा गर्दा यो गीतको सम्झना आइहाल्छ। एसएसएस म्युजिकले बजारमा ल्याएको यस गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा तथा गीता कोइरालाले स्वरमा साथ दिएका छन् ।

परदेशबाट घर फर्किन नपाएका नेपालीको पीडा र दसैँमा परिवारसँग भेट्न नपाउँदाको दुःख यस गीतमा समेटिएको छ । दसैँमा घर फर्किने रहर हुँदाहुँदै पनि बाध्यताले रोकिएका नेपालीको कथा गीतले सुनाउँछ । लोकदोहोरीका नियमित श्रोता मात्रै होइन, यो विधा कम सुन्नेहरूले पनि दसैँका बेला सम्झिने गीतमध्ये यो एक हो । घरपरिवारसँगको भेटघाट र मिलनको खुसीले भरिनुपर्ने दसैँ कसैका लागि विछोडको पीडा बनेर आउँछ भन्ने यथार्थ यस गीतले देखाउँछ ।

दसैँमा धेरै सुनिने अर्को गीत हो– ‘रातो टीका दसैँको जमरा’।

नेपाली चलचित्रमा समावेश चाडपर्वसम्बन्धी गीतले पनि दसैँको रौनक बढाउने गरेका छन्। चलचित्र ‘मनमन्दिर’मा रहेको ‘रातो टीका दसैँको जमरा’ गीतले पनि दसैँको माहोल सम्झाउँछ। यस गीतमा नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य देख्न सकिन्छ ।

टीका, जमरा, पारिवारिक भेटघाट र चाडपर्वको उत्साहलाई सम्झाउने यो गीत दसैँको समयमा अहिले पनि उत्तिकै बज्ने गर्छ । पुराना नेपाली चलचित्रका गीतले पनि दसैँको सांस्कृतिक र पारिवारिक महत्त्वलाई जीवन्त राख्न सहयोग गरेका छन् । त्यसैले चलचित्रमा समावेश भए पनि यो गीत दसैँसँग जोडिएको लोकप्रिय गीतका रूपमा परिचित छ ।

त्यस्तै, ‘थालैभरि रातो रातो अक्षता र पाती’ बोलको गीत पनि पछिल्ला वर्षमा दसैँको चर्चित गीत बनेको छ ।

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा तयार भएको यो गीत पछिल्ला केही वर्षदेखि दसैँमा नियमित सुनिने गीतमध्ये पर्छ। रिकेश गुरुङको एरेन्जमेन्ट रहेको यस गीतलाई युट्युबमा पनि धेरैले मन पराएका छन् ।

दसैँका बेला लाहुरे घर फर्किएको र गाउँघरमा छाउने रमाइलो वातावरणलाई गीतले समेटेको छ । घरपरिवारसँगको भेटघाट, गाउँको आत्मीयता र चाडपर्वमा फर्किने खुसी यस गीतका मुख्य भाव हुन् । आधुनिक शैलीमा तयार भए पनि दसैँको परम्परागत परिवेश र नेपाली जनजीवनको मिठासलाई समेटेकाले यो गीतले श्रोताको मन जितेको छ ।

यसरी दसैँमा बज्ने यी गीतले नेपाली समाजका फरकफरक भावनालाई उजागर गर्छन् । कुनै गीतले घर फर्किने खुसी दिन्छन्, कुनैले परदेशमा रहेका आफन्तको सम्झना दिलाउँछन् त कुनैले आर्थिक अभाव र विछोडको पीडा सम्झाउँछन् । दसैँ भनेको टीका, जमरा र नयाँ लुगामा मात्रै सीमित छैन। यो परिवारसँगको भेटघाट, आत्मीयता, सम्झना र भावनाको पर्व पनि हो। त्यसैले वर्ष फेरिए पनि यी गीतको मिठास घटेको छैन। दसैँको रौनकसँगै यी कालजयी गीत नेपालीको मनमनमा गुञ्जिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्