म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ ।

पार्टीका प्रतिनिधि सभा उम्मेदवार तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीबार जारी विज्ञप्तिमा गर्बुजाले भनेका छन् कि आफ्नो दलको दर्शन, विचार र सिद्धान्तप्रति प्रतिबद्धता कायम राख्दै पुन स्वतन्त्र उम्मेदवार बनेकाले उनीसँग प्रतिस्पर्धा नगर्ने निर्णय गरेका हुन् ।
गर्भुजाले सर्वसम्मतिका आधारमा साझा उम्मेदवार बनाएर निर्वाचित गराउनुपर्ने मान्यताका साथ आफ्नो उम्मेदवारी फिर्ता लिने बताए । उनले शुक्रबार निर्वाचन आयोगले तोकेको समयसीमाभित्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता गर्ने जानकारी दिएका छन् ।
यसअघि पार्टीबाट उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दीपक पुनले पनि महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँमा जन्मिएका महावीर पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत हुन् । उनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन् । उनका रोचक प्रचार शैलीका कारण सामाजिक सञ्जालमा पनि उनको चर्चा उल्लेखनीय रूपमा बढेको छ।











