काठमाडौं । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम भएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार भरत थापाले पहिला उम्मेदवारी दर्ता गरेकोले उनको नाम कायम गरिएको हो ।
नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो ।
सुरुमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्यालयमा ७ नम्बरमा उम्मेदवारी दर्ता गराएका भरतको प्रस्तावकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल थिए ।
उनको उम्मेदवारी दर्ता भएको थाहा पाएपछि मुन्नाबाबु पनि टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा कांग्रेसको तर्फबाट दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले इन्ट्रि गर्न नमिल्ने भन्दै मुन्नाबाबुलाई फर्काएको थियो ।











