
गायिका देविका बन्दना सांगितिक क्षेत्रमा सुपरिचित नाम हो । साढे ३ दशक लामो सांगितिक यात्रा पुरा गरिसकेकी देविकाले एक हजारभन्दा बढी गीत गाइसकेकी छिन्, उनको थुप्रै गीत चर्चित छन् । आधुनिक, लोक भजन, नेवारी, चलचित्र सबै क्षेत्रकी गीत गाउदै आएकी देविकाले आफ्नै एकल साँझसम्म गरिसकेकी छिन । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिएकी छिन् । थुप्रै मान पदवीबाट पनि उनी सम्मानित भइसकेकी छिन् । उनै सुमधुर स्वरकी धनी देविका बन्दनासँग रेजिना पाण्डेको जम्काभेट ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
गीत रेकर्डिङ र स्टेज कार्यक्रमहरूमै व्यस्त छु ।
अरूको गीत कतिको सुन्नुहुन्छ ?
म धेरै नै गीत सुन्छु । नयाँ/पुराना सबै गायक/गायिकाको गीत मनपर्छ ।
कहिलेकाहीँ मेरोभन्दा अरूको गीत पो राम्रो रहेछ भन्ने लाग्छ ?
लाग्छ, मैले सुनेका धेरै गीतहरू यस्ता छन् जुन अति नै सुन्दर छन् । हृदय छुने खालका छन् । संगित आफैमा जीवन बाच्ने आधार भएकाले कति गीत सुनेर भावविह्वल पनि भएको छु ।
सांगितिक क्षेत्रमा निकै प्रतिस्पर्धा हुन्छ । तपाईंको मुख्य प्रतिष्पर्धा कोसँग रह्यो ?
हरेक काममा हरेकको प्रतिस्पर्धा हुन्छ । ऊभन्दा म राम्रो गरौँ भन्ने पनि लाग्छ । मेरो गीत राम्रो होस् भन्ने लाग्नु स्वभाविकै हो । यसको अर्थ अरूलाई होच्याएर आफू माथि जाने भन्ने होइन । अरूलाई अनावश्यक रुपमा आलोचना गरेर दबाउने, पेल्ने काम मैले गरिनँ । अरूले के–के भने वास्ता पनि गरिनँ । राम्रो कर्म गर्दा राम्रो फल पाइन्छ भन्ने विश्वासको साथ अघि बढिरहेँ ।
यो क्षेत्रमा नभएको भए तपाईं के बन्नुहुन्थ्यो होला ?
सायद, म गाउनकै लागि जन्मेकी हुँ । अरू विषयमा मैले सोचेको पनि छैन । गायन नै मेरो जीवन हो । भगवानले गाउनकै लागि यो धर्तीमा मलाई पठाउनुभएको हो भन्ने लाग्छ ।
फेरि जन्म भयो भने गायिका नै बन्न चाहनुहुन्छ कि ?
म हरेक जन्ममा गायिका नै भएर जन्मन पाउँ । संगितविना सायद जीवन नै छैन जस्तो लाग्छ मलाई । जस्तोसुकै परिस्थितिमा पनि संगितमै रमाउछु म ।
अहिले नयाँ पुस्ताका गीत सुन्दा कस्तो लाग्छ ?
एकदमै राम्रो लाग्छ । भाइबहिनीहरूले संगितप्रति देखाएको भावलाई नमन गर्न चाहन्छु । नेपाली सांगितिक बजारमा धेरै राम्रा गायक/गायिका, संगितकार आउनभुएको छ । अझै आउदै हुनुहुन्छ । धेरैले यही क्षेत्रलाई कर्मथलो बनाउनुभएको छ । संगितकै माध्यमबाट देश/विदेशमा आफ्नो पहिचान बनाउनुभएको छ । यो देखेर निकै आनन्द आउँछ ।
प्हिला र अहिले सांगितिक क्षेत्रमा के फरक छ ?
पहिला प्रतिष्पर्धा र अवसर सीमित थियो । अहिले प्रतिष्पर्धा र अवसर धेरै छ । आफ्नो ट्यालेन्ट देखाउने माध्यम धेरै छन् । त्यसैले अहिले नयाँ प्रतिभाहरू आउन सजिलो छ ।
नयाँ कलाकारहरू आउदा पुराना कलाकार ओझेलमा पर्छन नि होइन ?
नयाँ आउँदैमा पुरानालाई बिर्सने भन्ने हुँदैन । नयाँ कलाकार जति आयो, पुरानालाई त्यति नै राम्रो हो । हेर्नुस त, पुराना गानाहरू अहिले पनि कति चर्चामा छन् । समयअनुसार र आफ्नो रुचिअनुसार गीत सुन्ने हो । त्यसैले ओझेलमा पर्ने भन्ने कुरा हुँदैन ।
अहिले पुरानो गितहरूलाई नयाँ पुस्ताले रिमिक्स र रिमेक गरेर बिगारेको आरोप पनि छ नि ?
अरूको गीत र संगितको भाव नमर्ने गरी गाउने हो भने राम्रो हो । बिर्सदै गएको गीतलाई सम्झाउने काम पनि गर्छ । मेरै गीतहरू पनि रिमिक्स भएका छन् । ‘अच्छा लेकिन’ मेरो गीत बहिनी रचनाले गाएकी छिन् । राम्रै भएको छ ।
संगितले तपाईंलाई के दियो र के गुमाउनुभयो ?
गुमाउन केही परेको छैन । बरु संगितले मलाई जीवन दिएको छ ।











