Logo
Logo

१५ नेताले छाडे कुलमानको साथ, समाउँदै रविको हात !


1.4k
Shares

काठमाडौं । २०७२ को दीपावलीपछि एकाएक चम्किएका व्यक्ति हुन्, कुलमान घिसिङ । त्यसअघि उनको नाम गुमनाम नै थियो । हो, अन्धाकारमय देशलाई २४ सै घण्टा उज्यालोमय बनाएका कुलमान अहिले अन्धाकार राजनीतिमा उज्यालो खोजिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पार्टीको ताला चाबी बुझाएर पार्टी एकता गरेका उनी १२ दिनमै ‘ब्याक’ भए । र, रास्वपामा जानुअघि उज्यालो नेपालको संरक्षक रहेका उनी पुनः फर्किदा अध्यक्ष भए । रास्वपामा उनको पद रविपछि दोस्रो स्थानमा थियो ।

मूल पार्टीमा फर्किएर राजनीतिको मियो खोजिरहेका कुलमान अहिले काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार छन् । एक कुशल प्रशासकको छाप छाडेका कुलमान राजनीतिमा होमिएको १२ दिनमै उताबाट यता आइपुगे । रास्वपाको साथ छाडेपछि उनले आफू रास्वपामा बस्न नसकेको तिक्तता पनि पोखे । र, आगामी यात्रा उज्यालो नेपालबाटै गर्ने र पार्टीलाई मजबुत बनाउने बाचा पनि गरे ।

एक कुशल प्रशासक हुनु र राजनीति गर्नु अत्यन्त फरक रहेछ । जुन कुलमानको हिडाइबाटै प्रष्ट हुन्छ । बिजुली बालेर देश उज्यालो पार्न सकिने भएपनि कर्मचारीतन्त्रकै निकम्मका कारण देश अन्धाकारमय बनाउन बाध्य बनाउने ती धमिराको पहिचान गर्दै जब कुलमानले विद्युत् प्राधिकरणको कमाण्ड सम्हाले साँच्चै उनलाई युगले सँधै सम्झने नै छ । पूजा नै गर्नेछ । तर, जब उनी जेनजेट विद्रोहपश्चात् मन्त्री भए र पार्टी नै खोलेर राजनीतिमा होमिए उनीप्रति आममानिसको विश्वास, रुचि र चासो पनि विस्तारै सतहमा ‘ल्याण्डिङ’ गरेको देखिन्छ ।

एकथरी मानिसको बुझाइ छ– जेनजेटको सपनालाई कुलमानले बुझेनन् । रवि, बालेनसँगै मिलेर जानुपथ्र्यौ । अर्काथरीको विश्लेषण छ– जे गरे ठीक गरे, विवादितको झुण्डबाट हटेर सही निर्णय लिए । स्वविवेकले रास्वपाबाट उज्यालो नेपाल फर्किदै गर्दा रिमा विश्वकर्माले पनि उनको साथ छाडिन् । रिमा तिनै हुन् जस्ले उज्यालो नेपाल अंकुराउँदै गर्दा कुलमानलाई दह्रो साथ दिएकी थिइन् । अहिले रिमा रास्वपामै छिन् ।

हुन त जो जसरी आउँछ त्यसरी नै पतन हुन्छ भन्ने भनाइ पनि छ । नेपाली राजनीति अहिले सिनेमाको सुटिङ नै भएको छ । सुत्दा एउटा दलमा भएको व्यक्ति उठ्दा अर्कै दलमा प्रवेश गरिसकेको हुन्छ । कुलमानको पार्टी पनि त्यस्तै सुटिङ केन्द्र नै हुन लागेको त होइन ? के थाहा फेरि साथ छाडेकाहरु फर्किन नि सक्छन् !

फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको मुखैमा आउनै लाग्दा १५ जना केन्द्रीय सदस्यहरुले कुलमानको साथ छाडेको औपचारिक घोषणा गरेका छन् । अब उनीहरु कुन राजनीतिक दल ‘सुटिङ’ मा प्रवेश गर्छन् ? त्यसबारे उनीहरुले अहिले कुनै मुख खोलेका छैनन् ।

कुलमानको साथ छाडेका उनीहरुले विज्ञप्तिमार्फत् भनेका छन्, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।’

कुलमानको साथ छाड्ने १५ जनामा डा. बिशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा.घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई रहेका छन् ।

यसअघि पहिचानवादी नेताहरु डकेन्द्रसिंह थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरूङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पार्टी परित्याग गरिसकेका छन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमजोरी, विधि–प्रक्रियाको अस्पष्टता तथा पहिचानसम्बन्धी एजेन्डाहरुमा स्पष्ट र लिखित धारणा प्रस्तुत नभएको भन्दै कुलमानको साथ छाडेका थिए ।

कुलमानले रास्वपाको साथ छाडेका १५ केन्द्रीय सदस्यहरुले जसरी हुन्छ रास्वापासँग एकता जोगाएर निर्वाचनमा होमिएर जेनजेटले देखेको सपना पूरा गर्नुपर्नेमा जोड दिएका थिए । तर, कुलमानले आफूखुसी गरेपछि चित्त दुखाएका उनीहरु ढिलो चाँडो रवि लामिछाने सभापति रहेको रास्वपामा नै जान लागेको बताइन्छ । पार्टीभित्र एकपछि अर्का केन्द्रीय सदस्यहरुले साथ छाडेपछि कुलमान अप्ठ्यारोमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्