
महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिीधसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् ।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उमेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उमेदवारहरूमा संघ र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा छन् ।
कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर २ मा नारायणप्रकाश (एनपी) साउदलाई उमेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । उनी यसअघि संघीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् ।
साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उमेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए ।
त्यसैगरी अछाम १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता भीमबहादुर रावल चुनावी मैदानमा उत्रिएका छन् । सो पार्टीबाटै कैलाली ५ मा प्रेम आले, कञ्चनपुर १ मा बिना मगर चुनावी दौडमा छन् । आले र मगर संघीय सरकारका पूर्वमन्त्री हुन् ।
यस्तै, नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भइसकेका त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उमेदवार बनाएको छ ।
प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उमेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर ३ बाट उमेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसकेका छन् ।
एमालेबाट पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उमेदवार छन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका एमाले नेता गणेशसिंह ठगुन्ना, बैतडीबाट उमेदवार बनेका दामोदर भण्डारी संघीय सरकारका पूर्वमन्त्री हुन् ।
कैलाली ४ मा पूर्वमन्त्री एवं एमालेका उपमहासचिव लेखराज भट्ट आसन्न निर्वाचनको उमेदवार बनेका छन् । कैलाली ३ का गौरीशंकर चौधरी पूर्वसंघीय मन्त्री भइसकेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।
एमालेबाटै अछाम १ मा उमेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । सचिव चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उमेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिए ।
उनले भने, ‘एमाले सबैतिर चुनावी सभा/भेला व्यवस्थित गर्दै जाने तयारीमा छ ।’ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ ।
कुल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।











