काठमाडौँ । टी–२० विश्वकपको आफ्नो दोस्रो वार्मअप खेलमा पनि नेपाल विजयी भएको छ। बिहीबार भारतको चेन्नईमा भएको आफ्नो दोस्रो वार्मअप खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १६१ रन बनाएको थियो। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। आसिफ ५८ रन बनाएर रिटायर्ड आउट हुँदा सन्दीपले ४४ रन बनाए। यस्तै, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२, दीपेन्द्र सिंह ऐरीले ९ र लोकेश बमले ५ रन बनाए।
बलिङतर्फ क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्डालले एक–एक विकेट लिए।
पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। उसका लागि नवनीत धलिवालले ४१, श्रेयस मोव्वाले ३८, कनवारपल तथ्गुरले २५ र जसकरण सिंहले २१ रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई तथा नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिए।
यसअघि मंगलबार भएको आफ्नो पहिलो वामअर्प खेलमा नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल अब टी–२० विश्वकप खेल्न मुम्बई जानेछ। नेपालले विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्याण्डविरुद्ध खेल्ने छ।











