
काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण मोडमा पुगेको छ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह पाँचौँ पटक चुनावी मैदानमा उत्रिएका छन् ।
२०६४ सालदेखि निरन्तर जित हासिल गर्दै आएका साहका लागि यसपटक आफ्नो राजनीतिक विरासत जोगाउनु मुख्य चुनौती बनेको छ ।
विगतको निर्वाचनलाई हेर्दा साहले निकै चतुर राजनीतिक चाल चल्दै आएका थिए । २०७९ को निर्वाचनमा एमालेबाट टिकट पाएर पनि अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेका थिए ।
त्यतिबेला कांग्रेस–माओवादी गठबन्धनको समेत साथ पाएका साहले ३२ हजार ४३७ मतका साथ विजयी झण्डा गाडेका थिए । तर, यसपटक परिस्थिति फेरिएको छ ।
हिजोका सहयात्रीहरू कुन्दन कुशवाहा, धिरज पटेल र नागेश्वर यादव लगायतले साथ छोडेपछि साह केही कमजोर देखिएका छन् । यद्यपि, उनले नयाँ व्यक्तिहरूको साथमा चुनाव जित्ने दाबी गरिरहेका छन् ।
यो क्षेत्रको चुनावी इतिहास पल्टाउँदा २०४८ र २०५१ मा कांग्रेस तथा २०५६ मा एमालेले जितेको थियो । त्यसयता भने साहकै वर्चस्व रहँदै आएको छ । उनले २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा माओवादीबाट भारी मतान्तरले जितेका थिए ।
यसपटक उनको प्रतिस्पर्धी कांग्रेसका रामकृपालप्रसाद यादव, एमालेका कुन्दनप्रसाद कुशवाहा, जसपाका गोविन्द चौधरी र रास्वपाका रवीन्द्र पटेलसहित ४० जना उम्मेदवार छन् ।
जसपाका गोविन्द चौधरी थारु बाहुल्य क्षेत्रमा राम्रो पकड राख्ने पुराना नेता हुन् भने कांग्रेसका रामकृपाल यादव शिक्षक पृष्ठभूमिका हुन् । एमालेका कुन्दन कुशवाहा प्रदेशसभा सदस्य भइसकेका व्यक्ति हुन् भने नेकपाकी उम्मेदवार पुनमदेवी यादव सेलिब्रेटी छविका कारण चर्चामा छिन् ।
साहले यसपटक बैंक तथा वित्तीय संस्थाको ब्याज, भन्सार राजस्व, वैदेशिक रोजगारीको ठगी र काठमाडौँमा बालेन शाहबाट विस्थापित कवाड मजदुरहरूको पक्षमा आवाज उठाएर मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
रौतहट–३ मा उनको व्यक्तिगत प्रभाव पनि उत्तिकै बलियो छ, जसको उदाहरण उनकी श्रीमती रिनाकुमारीले दल परिवर्तन गर्दा पनि मौलापुर नगरपालिकाको प्रमुखमा जित हासिल गर्नुलाई लिन सकिन्छ । उनीहरूले मौलापुरमा बिजुली र पानीको कर छुट दिएर स्थानीयको मन जितेका छन् ।
तर, यो क्षेत्रका साझा समस्याहरू भने ज्युँका त्युँ छन् । शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । धेरै विद्यालयमा स्थायी दरबन्दीका शिक्षक छैनन् र विद्यार्थीहरू भुइँमा बसेर पढ्न बाध्य छन ।
साक्षरता दर, विशेषगरी महिला साक्षरता दर निकै न्यून छ । स्वास्थ्य सेवाका लागि अझै पनि बाहिरी सहरकै भर पर्नुपर्ने र खानेपानीको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । एमाले उम्मेदवार कुशवाहाले बजेट सडकमा मात्र खर्च हुने तर मानवीय विकासमा लगानी नहुने मुख्य समस्या रहेको बताएका छन् ।
प्रभु साह भने विद्यालयको गुणस्तर सुधार्ने दायित्व सरकारको भएको भन्दै पन्छिने गरेका छन्। राजनीतिक रूपमा पनि साह विवादमुक्त छैनन्। उनीमाथि काशीनाथ तिवारी हत्याकाण्ड र गौर हत्याकाण्ड जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन्, जसले गर्दा समय–समयमा उनी कानुनी झमेलामा समेत पर्ने गरेका छन्।
यसपटक जातीय समीकरण र राजनीतिक प्रभावको बीचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। पुरानो टिम फुटेको र नयाँ शक्तिहरूको उदय भएको अवस्थामा रौतहट–३ को चुनावी नतिजा कता जान्छ भन्ने कुरामा सबैको चासो केन्द्रित छ।











