Logo
Logo

भक्तपुर-१ : ह्याट्रिकको दाउमा सुवाल, नयाँलाई इतिहास रच्ने चुनौती


756
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–१ मा पनि चहलपहल बढेको छ । यस क्षेत्रमा २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तीमध्ये साना–ठुला तथा नयाँ–पुराना दलका १६ जना र स्वतन्त्र नौ जना छन् । यस क्षेत्रमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका गरी १९ वटा वडा छन् । यहाँ ५२ हजार ६६ पुरुष र ५४ हजार नौ सय ८८ महिला गरी कुल एक लाख सात हजार ४४ मतदाता छन् ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवाल चर्चित उम्मेदवार हुन् । ६५ वर्षीय नेता सुवाल यसअघि यही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

उनी यसपटक ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ र २०७९ सालमा उनी भारी मतले निर्वाचित भएक थिए । त्यसो त यो क्षेत्र नेमकिपाको गढ पनि हो । यो क्षेत्रमा २०४८ सालयताका कुनै पनि निर्वाचनमा नेमकिपाले पराजय बेहोर्नुपरेको छैन । २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान सबजुक्छेले जितेका थिए ।

२०७९ सालमा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजय हासिल गरेका थिए । उनलाई पछ्याएका नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए । उनीहरूबिचको मतान्तर ३० हजार ७९३ थियो ।

तेस्रो स्थानमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्का नौ हजार ३०३ मत ल्याई तेस्रो स्थानमा रहँदा तत्कालीन नेकपा माओवादी केन्द्रका सुनिल गोठेले पाँच हजार २८३ मत पाएका थिए ।

त्यसअघि २०७४ सालमा पनि सुवाल ३३ हजार ७६ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला उनलाई नेपाली कांग्रेसका बाबुराजा जोशीले पछ्याएका थिए । जोशीले १७ हजार ८१८ मत पाएका थिए । त्यतिबेला सुवाल र जोशीबिच १५ हजार २५८ मतको अन्तर थियो । त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्रका मिलन सुवाल १५ हजार ३७४ र तत्कालीन विवेकशील साझा पार्टीका दिपेश न्यौपाने दुई हजार ३३० मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा सीमित भएका थिए ।

यीबाहेक अन्य उम्मेदवारले झिनो मत ल्याएका थिए । यसअघिको निर्वाचन २०७९ मा कुल खसेको मतमा झन्डै आधा मत ल्याउन सफल सुवाल त्यसअघि २०७४ को निर्वाचनमा भन्दा धेरै मत र मतान्तरले विजयी भएका थिए ।

यसपटक पनि उनले जित निकालेरै छाड्ने दाबी त्यहाँका केही मतदाता गर्छन् । तर यसपटक अरू दलका पनि चर्चित उम्मेदवार रहेकाले यसअघिकै जसरी सहज रूपमा जित्न भने सुवाललाई चुनौती छ । नयाँ शक्तिको लहर चलिरहेकाले नयाँले नै इतिहास रच्ने दाबी पनि गरिएको छ । यसअघिका दुई निर्वाचनमा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने उम्मेदवार पनि नदोहोरिएको र पार्टी पनि एउटै नरहेको स्थिति देखिन्छ ।

भक्तपुर–१ मा सुवाललाई चुनौती दिने भनिएका उम्मेदवारहरूमा एक हुन् नेकपा एमालेका नेता सोम मिश्र । ६२ वर्षीय मिश्र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर हुन् । बौद्धिक छवि बनाएका उनी भक्तपुरमा लोकप्रिय छन । उनी २०४५ सालयता भक्तपुर चाँगुनारयणका स्थायी बासिन्दा हुन् ।

यसै क्षेत्रमा नेपाली कांग्रेसबाट किरण न्यौपाने पनि उम्मेदवार छन् । ५१ वर्षीय न्यौपाने भक्तपुर चाँगुनारायण नगरपालिकाका बासिन्दा हुन् । भक्तपुर–१ मा नेपाली कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट ५२ वर्षीय हरिराम लवजू प्रतिस्पर्धामा उत्रिएका छन् । उनी भक्तपुर नगरपालिका–९ का बासिन्दा हुन् । न्यौपाने र लवजू दुवै अधिवक्ता हुन् । उल्लिखत सबै उम्मेदवार यस क्षेत्रका लागि नयाँ हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) बाट ६३ वर्षीय भरतबहादुर खड्का प्रतिस्पर्धामा छन् । उनले २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट तेस्रो स्थान हासिल गरेका थिए । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का ४६ वर्षीय रुकेश रञ्जित चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले ‘देशव्यापी लहर बनाएको’ भनिएको रास्वपाको यस क्षेत्रमा यसअघि खासै चर्चा थिएन । यसपटक रास्वपालाई जित दिलाउने भन्दै चुनावी मैदानमा उत्रिएका रञ्जित स्थानीय व्यवसायी तथा जिल्ला वाणिज्य संघका पदाधिकारी पनि हुन् । उनी पनि यस क्षेत्रका लागि नयाँ हुन् ।

भक्तपुर–१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल, जनता समाजवादी पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), ले पनि आफ्ना उम्मेदवार उठाएका छन्। तीबाहेक नौवटा स्वतन्त्रका तर्फबाट पनि उम्मेदवारी परेको छ ।

लामो समयदेखि नेमकिपाले विजय हासिल गर्दै आएको क्षेत्र भएकाले यो निर्वाचनमा पनि भक्तपुर–१ मा फेरि पनि सोही पार्टीले नै अग्रणी मत ल्याउने सम्भावना रहेको स्थानीयको आँकलन छ । तर, यस पटक नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिका कारण मत विभाजन हुने सम्भावना बढेको छ ।

मत विभाजन भए पनि नेमकिपालाई चुनौती दिन अरूले नसक्ने दाबी स्थानीयहरुको छ । सानो दल भए पनि संसद्मा सधैं जनताको पक्षमा उभिएकाले यो पटक पनि नेमकिपाकै जित हुने स्थानीयको विश्वास छ ।

नेमकिपाका नेता कार्यकर्ताहरु सुवालले जित्नेमा ढुक्क देखिन्छन् । हिजो सत्तामा गएका अन्य दलहरूको मत काटिए पनि आफूहरूलाई खासै असर नगर्ने उनीहरूको तर्क छ । सत्तामा गएकाहरूले शासन सञ्चालन गर्न नसकेको र जनताको शिक्षा र स्वास्थ्यमा काम नगरेकाले जनताले आफूहरूलाई नै रोज्ने उनीहरूको दाबी छ ।

यो पटक नयाँ पुस्ताको मत फरक उम्मेदवारलाई जाने सम्भावना छ । बेरोजगारी युवाको संख्या भक्तपुरमा उल्लेखनीय रहेकाले उनीहरूको मत नयाँ दलतिर जाने स्थिति देखिएको हो । यो निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेको छन् ।

निर्वाचन आयोगको आचारसंहिताअनुसार घरदैलोमा जाने र अन्य तरिकाले बहस चलाउने कार्य भइरहेको छ । नेमकिपाले विभिन्न कार्यक्रममार्फत आफ्ना योजनाहरू जनतालाई भनिरहेको छ भने अन्य दलहरू पनि आफ्नो उपस्थिति जनाउने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्