काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा अवतरण गराइएको छ ।प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी-१३०जे सुपर हरक्यूलिस विमान शुक्रवार सडकमा अवतरण गरिएको हो ।

यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक क्षण’ भनेका छन् । किनभने पूर्वोत्तर भारतमा हवाई जहाज उत्रिने सुविधायुक्त राजमार्ग बनेको पहिलोपटक हो । यस विशेष खालको राजमार्गमा राफेल लगायतका अन्य लडाकु विमानहरू पनि सहजै अवतरण र उडान गर्न सक्छन् ।
प्रधानमन्त्री मोदी १४ फेब्रुअरीमा चाबुवा हवाई अड्डाबाट उडान भरेर आसामको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेका थिए । करिब १०० करोड रुपैयाँ लागतमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ)युक्त सडक करिब साढे चार किलोमिटर लामो छ । यसले भारतीय वायुसेनाका लडाकु र यातायात विमानका लागि रणनीतिक तथा बहुउद्देश्यीय सडकका रूपमा उपयोगमा आउने जनाइएको छ ।
इमरजेन्सी ल्यान्डिङ फेसिलिटी भनेको कुनै राज्य वा राष्ट्रिय राजमार्गमा बनाइने विशेष खालको एयरस्ट्रिप हो, जहाँ आपत्कालीन अवस्थामा वायुसेनाका लडाकु अन्य हवाई जहाज पनि उडान गर्न सक्छन् । सामान्य समयमा त्यहाँ गाडीहरू चल्छन्, तर आवश्यक परेमा त्यो सडकलाई विमानस्थलको रन-वेको रूपमा प्रयोग गर्न सकिन्छ ।
आसामको मोरान बाइपासमा निर्माण गरिएको इमरजेन्सी ल्यान्डिङ फेसिलिटी (ईएलएफ) एयरस्ट्रिप चीनको सिनामासँग नजिक रहेकाले पूर्वोत्तर क्षेत्रको सुरक्षालाई थप मजबुती दिने अपेक्षा गरिएको छ ।
मोदीले आफू विमानबाट रनवेमा नभई हाईवेमा उत्रिएको बताउँदै यो नयाँ इतिहास बनेको बताए । ‘पहिले यो क्षेत्र बिग्रेभत्केका सडक भएको ठाउँको रूपमा चिनिन्थ्यो । अहिले सबैले आसाममा देखे पूर्वोत्तर भारतको सामर्थ्य,’ मोदीले भने ।
युद्धको अवस्थामा यसको आवश्यकता अझ बढी पर्छ । यदि मुख्य हवाई अड्डा वा एयर बेस शत्रुको निशानामा परेमा विकल्पमा यस्ता सडक उपयोगी हुन्छन् । कुनै लडाकु विमान आक्रमणमा परेमा टाढा उडेर मुख्य बेससम्म पुग्नुपर्ने अवस्थाको सट्टा सडकमै बनेको हवाई पट्टीमा सुरक्षित अवतरण गर्न सक्छ । यसका साथै रक्षा, खाद्यान्न आपूर्ति र विपद् राहत कार्यमा पनि यस्तो सुविधा निकै उपयोगी हुन्छ ।
भारत सरकारले राजस्थान, उत्तर प्रदेश, तमिलनाडु लगायतका स्थानमा पनि यस्ता विशेष खालका सडक निर्माण गरिसकेको छ । मोरान ईएलएफ भनिने आसामको सडक पूर्वोत्तर भारत क्षेत्रको पहिलो हो । यो सो क्षेत्रको पूर्वाधार विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजना हो ।
भारत सरकारले देशभर २८ वटा यस्ता इमरजेन्सी ल्यान्डिङ फेसिलिटीयुक्त सडक निर्माण गर्ने योजना बनाएको छ । चीनसँग सिमाना जोडिएको पूर्वोत्तर भारत क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै आसाममै कम्तीमा पाँच वटा यस्ता खालका सडक निर्माण गर्ने योजना भारतको रहेको छ ।
भारतमा पहिलो इमरजेन्सी ल्यान्डिङ फेसिलिटी स्ट्रिप ९ सेप्टेम्बर २०२१ मा राजस्थानको बाड़मेर–जालोर राजमार्ग (एनएच–९२५ए) मा उद्घाटन गरिएको थियो । त्यस अवसरमा भारतीय वायुसेनाको सी-१३० जे सुपर हरक्यूलिस विमान सोही राजमार्गमा अवतरण गरेको थियो ।











