
अस्ति आइतबार खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सभ्य र भव्य रूपमा सम्पन्न भयो । नेपाली कांग्रेसको इतिहासमा यो महाधिवेशनले छुट्टै महत्त्व राख्छ । विगतमा अनेकौँ टुटफुट र परिवारवादको घेरामा साँघुरिएको नेपाली कांग्रेस अब गगन थापाले भनेझैँ ‘लास र दास’हरुको पार्टी बाट मुक्त भयो । जेनजी विद्रोहको ऊर्जापछि गगन–विश्वप्रकाशले नेपाली कांग्रेसलाई नयाँ जीवन दिएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेसको भूमिका अबका दिनहरूमा अझ बलियो बन्नुपर्छ । यो महाधिवेशनले नव युवाहरूलाई संगठित गर्दै देशलाई लोकतान्त्रिक धारबाट अगाडि बढाउँदै अब देश बन्छ भन्ने आशा जगाउनुपर्छ । विगतमा पनि बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको कठोर संघर्षबाट नेपालको राजनीतिलाई राजतन्त्रबाट मुक्त गरेर गणतन्त्रसम्मको यात्रामा होमेको इतिहास छ ।
आज हामी त्यही इतिहासको जगमा उभिएका छौँ । यो जगमा उभिएर अगाडि बढिरहँदा नेपाली कांग्रेसप्रति विमति राख्न पाइन्छ । तर त्यसको इतिहासलाई होच्याएर इतिहासकै अवमूल्यन गर्न पाइन्न । लोकतन्त्र भनेको व्यक्तिको लहड होइन, विचारबीचको प्रतिस्पर्धा हो । आजको विश्व विचारकै कारण अगाडि बढिरहेको छ । हाम्रै दुई छिमेकीको कुरा गर्ने हो भने, दक्षिण भारत लोकतन्त्रमा विश्वास राख्छ, उत्तर चीन कम्युनिष्ट विचारबाट अगाडि बढिरहेको छ । विचार जेसुकै भए पनि उद्देश्य आर्थिक समृद्धि हो । त्यसका लागि हरेक देशमा विचारबीच प्रतिस्पर्धा हुन्छ । त्यसैलाई लोकतान्त्रिक अभ्यास भनिन्छ ।
विचार शून्य व्यक्ति अराजक, तानाशाही र निरंकुश शैलीको हुन्छ । उसले आफूबाहेक अरू कसैलाई मान्छे गन्दैन । आफूले गलत नै गरेको भए पनि त्यसलाई सही ठानेर अगाडि बढ्छ । वास्तवमा, यस्ता प्रवृत्तिका मान्छे लोकतन्त्रका लागि खतरा साबित हुन सक्छन् । त्यसैले देशलाई लोकतान्त्रिक मार्गमा अगाडि बढाउन सिद्धान्त र विचारसहितका राजनीतिक दलहरू बलियो हुनैपर्छ । जनतामा भिज्नैपर्छ । किनभने, लोकतन्त्रको राम्रो पक्ष, नराम्रो पक्ष भने पनि जस्तासुकै प्रवृत्तिका मान्छेहरू पनि जनताबाट चुनिएर आउन सक्छन् ।
उदाहरणका लागि धेरै टाढा जानु पर्दैन । नेपालको पछिल्लो राजनीतिक परिणाम हेरे पुग्छ । प्रधानमन्त्री बालेन साहले ‘नयाँ’ भनेर कसलाई भन्न खोजेको हो त्यो त थाहा भएन, तर अहिलेको ‘नयाँ’ भनेको रास्वपा हो, जसको जन्म कुनै राजनीतिक सिद्धान्त र विचारबाट नभई पुराना दलको राजनीतिक विकृति र विसंगतिबाट भयो । त्यसबाट जोगाउनकै लागि गगन–विश्वले नेपाली कांग्रेसका बदनाम सभापति शेरबहादुर देउवाको हातबाट कांग्रेसको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरे । ‘सक्किने कि सच्चिने’ भन्दा पनि ‘सक्किन’ तयार भएका बदनाम पात्रहरूलाई पाखा लगाएर गगन–विश्वले नेपाली कांग्रेसलाई ‘सच्चिने’ बाटोमा अग्रसर गराएका छन् । लोकतन्त्रको भविष्यको लागि यो सकारात्मक घटना हो ।
उनीहरूको यो सकारात्मक कदमलाई स्वागत गर्नुपर्नेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले ‘धन्न खुलामञ्च बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भनेर स्टाटस लेखे । प्रधानमन्त्रीजस्तो व्यक्तिको यो स्टाटस कुनै विचार वा प्रतिक्रिया नभई बौद्धिक दरिद्रता हो । यसमा प्रधानमन्त्रीले आफूलाई सच्याउनु पर्छ ।
खुलामञ्चबाट सरकारका विरुद्ध जे–जस्ता आलोचना भए पनि त्यसलाई आत्मसात् गर्नु लोकतान्त्रिक चरित्र हो । लोकतान्त्रिक विधि र पद्धति भनेको नेतृत्वको आचरणसँग जोडिएको हुन्छ । देशकै प्रधानमन्त्रीले यस्तो ‘स्टाटस’ लेखेर आफूलाई आलोचनाको पात्र बनाउनुभन्दा आफ्ना कमी कमजोरी सच्याएर सबैको विश्वास जित्न सक्नु असल नेताको गुण र चरित्र हो । यसो भन्दा रिस उठ्न सक्छ, किनभने इम्परर न्यू क्लोथका बादशाह नांगै सडकमा हिँडे पनि उनलाई ‘कुरी कुरी’ भन्ने आँट कसैमा थिएन । त्यस्तै आजको सामाजिक सञ्जालको युगमा बालेनले जे लेखे पनि हत्तपत्त उनको ‘स्टाटस’ लाई कसैले पनि यो बेठिक हो भनेर लेख्ने आँट गर्दैनन् । बरु उल्टै ठिक लेख्यो भन्छन्, सत्य कुरा ढाँट्छन् ।













