
काठमाडौं । महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले बिशेष समारोहको आयोजना गरेको छ ।
सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएत उच्च पदस्थहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।
समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो ।
त्यस्तै सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरे ।
उनले ‘फ्रि फल जम्प’ मा प्रथम भएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो भएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरे ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।












