काठमाडाैं । निर्वाचन आयाेगले राजनीतिक दलहरुलाई ६४ बुँदे निर्देशन दिएकाे छ । आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन दिएको हाे ।

आयाेगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्न निर्देशन दिएकाे आयाेगले जनाएकाे छ ।
त्यस्तै निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्नलगायतका ६४ बुँदे निर्देशन जारी गरेकाे आयाेगले जनाएका छन् ।
निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।
यस्ता छन् निर्देशनहरु:
१. निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्न नहुने।
२. राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा संवत् 2082 फागुन 4 गते देखि फागुन 18 गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनको लागि घरदैलो कार्यक्रम गर्ने।
३. निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनको लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने।
४. निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पुर्याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्बेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने।
५. निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने।
६. निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ्ग र मुद्रकको नाम सहितको पर्चा वितरण गर्न बाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने।
७. मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने।
८. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्याली गर्न वा गराउन नहुने।
९. निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने।
१०. निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानून विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने,
११. उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्था बाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने,
१२. पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने।
१३. आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने।
१४. निर्वाचन प्रचारप्रसारमा खर्च गर्दा आफू वा आफ्नो निर्वाचन प्रतिनिधि मार्फत मात्र खर्च गर्ने र आयोगले तोकेको निर्वाचन खर्चको हदभन्दा बढी खर्च गर्न वा गराउन नहुने।
१५. निर्वाचन प्रचारप्रसार गर्दा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र बनाई सोको आधारमा प्रचारप्रसार गर्ने, मतदाताको जानकारीको लागि सार्वजनिक गर्ने, उक्त घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्ने।
१६. निर्वाचन प्रचारप्रसार अभियानमा प्रचलित सङ्घीय कानून वा निर्वाचन आचारसंहिताले निषेध गरेको काम कारवाही गर्न वा गराउनका लागि कुनै प्रकारले आर्थिक सहयोग लिन वा काम कारबाहीको लागि खर्च गर्न वा गराउन नहुने।
१७. निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३5 (पैंतीस) दिनभित्र सम्बन्धित दलले आयोगमा र उम्मेदवारले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउने।
१८. जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने दल वा व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने।
१९. जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्ने।
२०. दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने।
२१. सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र नलिई प्रयोग गर्न नहुने।
२२. एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने।
२३. निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन बाहेक अन्य कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने।
२४. निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमले रोकावट वा हस्तक्षेप गर्न वा गराउन नहुने।
२५. मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृति बिना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने
२६. निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचन सम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुने।
२७. मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिन्ह वा सङ्केत मेट्न, केर्न, सच्याउन, किर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पुर्याउन वा दुरूपयोग गर्न वा गराउन नहुने।
२८. नक्कली मतपत्र तयार गर्न वा त्यस्तो मतपत्र ओसारपसार गर्न वा मतपत्र खरिद बिक्री गर्न नहुने,
२९. प्रचलित सङ्घीय कानून बमोजिम मत दिन पाउने अधिकार बिना कुनै मतदान गर्ने, अर्को मतदाताको मतपत्र बुझिलिने वा अर्काको नामबाट मतदान गर्न वा एउटै निर्वाचनका लागि एक भन्दा बढी मतदान गर्न, मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत गर्ने स्थलमा मत सङ्केत नगरी त्यस भन्दा बाहिर गई प्रचलित सङ्घीय कानून वा आयोगले तोकेको प्रकृया उल्लङघन गर्न, मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिका भित्र खसाल्न वा राख्न र मतदाताले मतदान गरी मतपेटिकाभित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा नष्ट गराउने कुनै वस्तु वा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न नहुने।
३०. मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन नहुने।
३१. मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने।
३२. उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति मतगणना स्थलमा प्रवेश गर्न र मतपत्रमा मतदाताले सङ्केत गरेको मत वा तत् सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न, प्रकट गर्न वा प्रकाश गर्न नहुने।
३३. निर्वाचनको मतगणना भइरहेको अवस्थामा मतपेटिका वा मतपत्र वा निर्वाचन सम्बन्धी अन्य कुनै पनि कागजपत्र बल प्रयोग गरी वा नगरी खोस्न, लुट्न, बिगार्न वा कुनै किसिमले नोक्सान गर्न वा निर्वाचन अधिकृतको अनुमति बिना मतगणना स्थलबाट अन्यत्र लैजान नहुने।
३४. मतदान केन्द्र वा मतगणना स्थल र त्यसको वरिपरि कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन नहुने।
३५. मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनु भन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउण्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने।
३६. जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने।
३७. स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने।
३८. जुलुस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनु पर्ने।
३९. कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने।
४०. एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने।
४१. प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने।
४२. घर धनीको अनुमति नलिई निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने।
४३. विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने।
४४. निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने।
४५. उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको 3˟4 फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।
४६. उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने।
४७. अनलाइन वेबपेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन नहुने।
४८. कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने।
४९. ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न गराउन नहुने।
५०. कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन तथा कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने।
५१. निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग बाहेक अन्य सवारी साधन र घोडा प्रयोग गर्न नहुने।
५२. कुनै दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने।
५३. राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेट बाहेक प्रसारण गराउन नहुने।
५४. राजनीतिक दल वा उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा चार कोलमपच्चीस सेन्टिमिटर उचाई (Four column twenty five cm Height) सम्मको आकारमा कुनै एउटा पत्रिकामा भन्दा बढी प्रचार सामग्री छपाउन नहुने।
५५. प्रचारप्रसार निषेध अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने।
५६. प्रचारप्रसार निषेध अवधिमा कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने।
५७. प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर वा प्रतिक्रिया गर्न वा गराउन नहुने।
५८. मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन वा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने।
५९. सभा, जुलुस, र्याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामाग्रीहरू अनिवार्य रुपमा सङ्कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने।
६०. निर्वाचन प्रचारप्रसार सभा जुलुस वा र्याली वा घरदैलो कार्यक्रम गर्दा प्लाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न नहुने, निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने।
६१. निर्वाचन आचारसंहिता कार्यान्वयनको लागि गठित विभिन्न समितिहरूमा अनिवार्य प्रतिनिधित्व गर्ने साथै निर्वाचन व्यवस्थापनको सिलसिलामा हुने सर्वदलीय वा सर्वपक्षीय वैठकहरूमा आमन्त्रण गरिएको बखत सहभागी हुने।
६२. निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था एवम् निर्वाचन आचारसंहिता, २०82 को उल्लङ्घन गरेको पाइएमा लिखित वा मौखिक वा सामाजिक सञ्जाल वा विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालय वा स्थानीय प्रशासन वा निर्वाचन आयोगमा उजुरी वा सूचना दिई निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने।
६३. राजनीतिक दलहरूले आफ्नो पचारप्रसार गर्दा निर्वाचन आचारसंहिता, २०82 एवम् प्रचलित निर्वाचन कानूनमा नागरिक तथा मतदाताले पालना गर्नुपर्ने भनी उल्लेख भएका विषयहरू बारे समेत जानकारी गराई जनस्तर बाटै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित निर्वाचनको वातावरण तयार गर्न सहयोग गर्ने ।
६४. २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उपरोक्त बुँदाहरूमा लेखिए बमोजिमका बुँदाहरू सम्पादन गर्नु गराउनुहुन सवै राजनीतिक दल र दलका उम्मेदवारलाई समेत निर्वाचन आयोग अनुरोध गर्दछ।












