काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसार गर्न निर्देशन दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उक्त अवधिमा जुलुस, आमसभा, कोणसभा, घरदैलो तथा सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न पाइनेछ।
आयोगले धम्की, डरत्रास, लोभ–लालच, आर्थिक प्रलोभन, सामाजिक बहिष्कार, हातहतियार प्रदर्शनलगायतका गतिविधि नगर्न चेतावनी दिएको छ। मतदातालाई नगद, जिन्सी, उपहार वा सार्वजनिक भोजमार्फत प्रभावमा पार्न नहुने पनि स्पष्ट पारेको छ।
आचारसंहिता अनुसार सीमित आकारको पर्चाबाहेक पोस्टर, ब्यानर, भित्ते लेखन र डिजिटल डिस्प्ले प्रयोग गर्न रोक लगाइएको छ।
मतदानको ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ। साथै, सरकारी सवारीसाधन, कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोगमा पनि निषेध गरिएको छ।












