Logo
Logo

टुँडिखेलमा अमेरिकी सेनाको परेड


378
Shares

काठमाडौं । नेपाली सेनाको २६३औं स्थापना दिवस (सेना दिवस) तथा महाशिवरात्रिको अवसरमा टुँडिखेल सैनिक मञ्चमा आयोजित भव्य समारोहमा अमेरिकी सेनाको ब्यान्ड टोलीको प्रस्तुति देखिएपछि सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा यो घटनालाई लिएर राजनीतिक बहस चर्किएको छ । 

सामाजिक सञ्जालमा फैलिएका सामग्रीहरूमा अमेरिकी सैनिकहरूले आफ्नो राष्ट्रिय झन्डा बोकेर परेड खेलेको, नेपाली सेनासँग संयुक्त मार्चपास गरेको र ब्यान्ड बजाएर नृत्य प्रस्तुत गरेको देखिन्छ । केहीले  यसलाई ‘जेनजी आन्दोलन’ जस्ता घटनासँग जोड्दै पश्चिमी शक्तिको नेपालमा बढ्दो प्रभावको प्रमाण मानेका छन् । उनीहरूले यो केवल ब्यान्ड प्रस्तुति मात्र नभई राजनीतिक प्रभाव विस्तारको एक हिस्सा भएको बताएका छन् ।

तर नेपाली सेनाले यसलाई खण्डन गरेको छ । प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘यो नियमित तथा पारस्परिक सैन्य सहकार्यको अभ्यास हो । सेना दिवसमा विभिन्न मित्र राष्ट्रका ब्यान्ड टोलीहरूले मैत्रीपूर्ण सहभागिता जनाउँदै आएका छन् । हामी पनि भारत, अमेरिका लगायतका देशमा यस्तै प्रस्तुति दिन्छौं ।’

उनले भारतको सेना दिवसमा नेपाली ब्यान्ड टोली गएको र नेपाली भाषामै उद्घोष भएको उदाहरण दिए । जङ्गी अड्डाले जारी गरेको विज्ञप्तिमा पनि यो ‘आर्मी टु आर्मी’ सहयोगअन्तर्गतको नियमित कार्यक्रम भएको उल्लेख छ । नेपाल र अमेरिकाबीच सन् १९४७ देखि नै सैन्य सम्बन्ध छ । नेपाली अधिकृतहरू अमेरिकाको स्टाफ कलेजमा अध्ययन गर्छन्, संयुक्त अभ्यास हुन्छन् र युवा आदानप्रदान कार्यक्रम सञ्चालन हुन्छन् । भारत, चीन, बेलायत, पाकिस्तान जस्ता देशहरूसँग पनि नेपालले यस्तै संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । गणतन्त्रकालमा विभिन्न सरकारहरूको पालामा पनि यस्ता कार्यक्रम नियमित थिए । 

निर्वाचन नजिकिँदै गर्दा यो घटनाले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।  सरकार तथा सेना निकट पक्षले यसलाई ‘विगतकै निरन्तरता’ भन्दै भ्रम फैलाउन नहुने बताएका छन् ।  केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको समयमा पनि यस्ता कार्यक्रम भएका थिए । 

प्रतिक्रिया दिनुहोस्