Logo
Logo

काठमाडौं ३ मा एमाले-कांग्रेसलाई नयाँको चुनौती


693
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र ३ भूगोलका आधारमा सानो छ । तर, राजनीतिक अर्थमा सधैँ चर्चाको केन्द्रमा रहँदै आएको छ ।

यो क्षेत्रमा १३ वटा वडा छन् । जसमा काठमाडौं महानगरपालिका ६, कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १, २, ३, गोकर्णेश्वर नगरपालिकाको वडा १, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा पर्छ । बौद्धका गल्लीदेखि गोकर्णेश्वरका वनपाखा र कागेश्वरी मनोहराका फाँटसम्म फैलिएको यो क्षेत्रले यसपटक फेरि एक रोचक राजनीतिक मोडको प्रतीक्षा गरिरहेको छ ।

यो क्षेत्रमा विगतका निर्वाचनमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएका थिए । जसमा ०५६ मा एमालेकी विद्यादेवी भण्डारी, ०६४ मा कांग्रेसका चक्रबहादुर ठकुरी, ०७० मा एमालेका रामेश्वर फुयाँल, ०७४ मा एमालेकै कृष्णबहादुर राई र ०७९ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । यो क्षेत्रमा प्रत्येक निर्वाचनमा सांसद फेरिँदै आएका छन् ।

६४ हजारभन्दा बढी मतदाताका अगाडि यसपटक परम्परागत शक्ति मात्र होइन, आशालाग्दा नयाँ अनुहारहरू पनि विकल्पका रूपमा उभिएका छन् । ऐतिहासिक रूपमा हरेक निर्वाचनमा सांसद फेर्ने चरित्र बोकेको यो क्षेत्रमा यसपटक कांग्रेसले रमेश अर्याललाई मैदानमा उतारेको छ ।

अर्याल युवा पलायन रोक्ने र उत्तरगया जस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्ने एजेन्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । अर्कोतर्फ, एमालेका अनुभवी नेता रामेश्वर फुयाँल आफ्नो पुरानो विरासत फर्काउने दाउमा छन् । सुशासन र राष्ट्रियतालाई मुख्य एजेन्डा बनाएका फुयाँल यो निर्वाचनलाई एक किसिमको जनमतसंग्रहकै रूपमा अथ्र्याउँछन् ।

तर, यसपटकको प्रतिस्पर्धा पुरानो दुई दलीय चक्रमा मात्र सीमित छैन । लोडसेडिङ अन्त्य गरेर ‘उज्यालोका नायक’ को छवि बनाएका कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको नेतृत्व गर्दै आफैँ चुनावी मैदानमा होमिएका छन् ।

भावी प्रधानमन्त्रीको दाबेदारीसहित मैदानमा उत्रिएका घिसिङले भाषणभन्दा नतिजामुखी कामलाई आफ्नो मुख्य हतियार बनाएका छन् । उनीसँगै रास्वपाका राजुनाथ पाण्डे ‘भावी गृहमन्त्री’ को कार्ड लिएर परिवर्तनका भोका मतदातालाई आकर्षित गरिरहेका छन् ।

उता नेपाली कम्युनिष्ट पार्टीका नीरज लामा प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजवादी शिक्षाको एजेन्डासहित परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिँदैछन् ।

काठमाडौंको काखमै भएर पनि खाल्डाखुल्डी सडक, खानेपानीको अभाव र खहरे खोलाको वितण्डा भोगिरहेका यस क्षेत्रका बासिन्दाले १६ दल र ६ स्वतन्त्र उम्मेदवारमध्येबाट कसलाई चुन्लान् भन्ने कौतुहलता उत्तिकै छ ।

आजपाकी रूपसागर देवी एक्ली महिला उम्मेदवारका रूपमा देखिएको यस चुनावी मैदानमा श्रम संस्कृति पार्टीका सुवास घिसिङदेखि राप्रपाका सुन्दरराम बोहरासम्मले आ–आफ्नो प्रभाव जमाउन खोजिरहेका छन् ।

सडकको जाम र धुलोबाट मुक्ति खोजिरहेका मतदाताले यसपटक पुराना अनुहारको अनुभवलाई पत्याउँछन् वा कुलमान जस्ता ‘डेलिभरी’ दिएका नयाँ पात्रलाई सत्ताको साँचो सुम्पन्छन्, त्यसको छिनोफानो फागुनको नतिजाले नै गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्