झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् ।
“देश अहिले सङ्कटमा छ, देश रहन्छ कि रहँदैन”, अध्यक्ष लिङ्देनले भने, “देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।” उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए।
सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरु पर्दछन् ।












