काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथिति अन्त्य हुने उद्घोष गरेका छन्।

धनगढीमा आयोजित जनसभामा लामिछानेले अब जनताले केवल भोट दिने नभई, नेतासँग ‘कन्ट्र्याक्ट’ गर्ने युग सुरु भएको बताए। उनले वर्षौंदेखि जनताको मुद्दा मात्र निर्वाचन एजेन्डा बनेर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य आवश्यक रहेको जोड दिए। रास्वपाले नेपालको इतिहासमा पहिलोपटक जनतासँग लिखित ‘पाँच वर्षे कन्ट्र्याक्ट’ गरेको दाबी गर्दै स्थायी पाँच वर्षे सरकारको अपेक्षा व्यक्त गरे।
लामिछानेले वाचा पूरा नगर्ने नेताले सजाय पाउनु पर्ने र जनताको सधैं पीडित बन्ने अवस्था अन्त्य गर्न रास्वपा मैदानमा आएको बताए ।
सुदूरपश्चिममा कार्यरत नेपालीहरूलाई सम्बोधन गर्दै उनले मतदान गर्न छुट्टी लिएर भए पनि आउन आग्रह गरे। सिंहदरबारको संरचना मात्र नभई कार्यशैली र नियत पनि बदल्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले पुराना दलहरूले डोजर चलाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको उल्लेख गरे। उनले भने, “३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो?”
उनले थपे: “जनताको अधिकार, सुदूरपश्चिमका मुद्दा र बेरोजगारी, अशिक्षा जस्ता समस्याको ‘सटर’ अब बन्द गर्नुपर्छ। इतिहास लेख्ने हो, भोट हाल्ने होइन। अब कुनै नेताले वाचा पूरा नगर्दा जनताले पीडा भोग्ने अवस्था रहँदैन। वाचा गर्नेले सजाय पाउँछन्, जनताले होइन। त्यसका लागि पाँच वर्षे स्थायी सरकार आवश्यक छ। यो पहिलोपटक हो जब कुनै दलले जनतासँग लिखित कन्ट्र्याक्ट गरेको छ।”
भ्रष्टाचार र बेथिति पूर्ण रूपमा हटाउन रास्वपाले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदातालाई आह्वान पनि गरेको छ।











