Logo
Logo

एमाले गरिब र मजदुरको पक्षमा छ : ओली


315
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गरेका छन् । झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गरे । उनले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गरे । गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उनले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले आफ्नो कार्यकालमा सुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्वमाथि प्रकाश पारे । ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उनले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पारे । उनले विकासको अनुभुति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको दाबी गरे । 

उनले भने, ‘खासगरी विपन्न, गरिब वर्गका साथीभाइहरू, सानो व्यवसाय, सानो आर्जन हुने व्यवसाय सञ्चालन गर्ने साथीहरू, अथवा सुकुम्वासी, गरिबहरूको सम्बन्धमा हाम्रो पार्टीले सबभन्दा बढी ध्यान दिन्छ । हाम्रो नीति कोही पनि भोकै हुनुहुँदैन, कोही पनि गरिब हुनुहुँदैन भन्ने हो । हामीले झन्डैझन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ । अहिले भोकमरी भन्ने त्यस्तो छैन, किनभने मान्छे खानै नपाएर मर्ने खालको अवस्था अहिले नेपालमा छैन, त्यो लगभग अन्त्य गरेका छौँ । गरिबी छ, फेरि पनि । गरिबी छ, त्यो गरिबी अन्त्य गर्न हामी लागिराखेका छौँ ।’

आसन्न निर्वाचनप्रति लक्षित गर्दै उनले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताए । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिए । उनले एमालेको चुनावी चिह्न ‘सूर्य’ मा मतदान गरेर एमालेलाई जिताउन आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस्