
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भविष्य निर्धारण गर्ने निर्णायक घडी आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले अहिलेको समय सामान्य चुनाव मात्र नभई राष्ट्र जोगाउने कि सिध्याउने भन्ने बीचको छनोट भएको दाबी गरे ।
उनले २१ फागुनमा हुने निर्वाचनबारे मतदातालाई सम्बोधन गर्दै अब तटस्थ बस्ने समय नरहेको बताए । ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ,’ उनले भने, ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन ।’
ओलीले मतदातालाई भविष्यको ऐना देखाउँदै अहिलेको मौनता महँगो पर्न सक्ने चेतावनी समेत दिए । जिन्दगीको अन्तिम मोडमा पुग्दा पछुताउनु नपरोस् भन्दै उनले भने, ‘जिन्दगीको अन्तिम मोडतिर पुग्दा, मैले त्यतिबेला बोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपथ्र्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपथ्र्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् ।’
साथै उनले मतदाताको एक भोटले राष्ट्रको भविष्य कोर्ने उल्लेख गर्दै भने, ‘मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् ।’











