Logo
Logo

एमालेमा ओलीको आलोचना गर्ने नपाइने !


0
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको नीति, निर्णय र नेतृत्वको सार्वजनिक रूपमा आलोचना, विरोध वा अपमान गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा यस्तो चेतावनी दिइएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको अपानीमा पार्टीको नीति, निर्णय र नेतृत्वविरूद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अराजक वा अनुशासनहीन गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने उल्लेख छ।

‘अबउप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वविरूद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरे वा गुटबन्दी गरे वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने,’ अपानीमा भनिएको छ।

त्यस्ता गतिविधिमा कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने निर्णयसमेत गरिएको छ। ‘त्यस्तो क्रियाकलाप गरेको पाइए कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने,’ अपानीमा भनिएको छ।

पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोगलाई पनि सक्रिय बनाउने एमालेले जनाएको छ। केन्द्रीय अनुशासन आयोगलाई यस अनुसार काम गर्न कुनै व्यवधान वा अप्ठ्यारो परे केन्द्रीय कमिटीले बाधा–अड्काउ फुकाएर भए पनि सहयोग गर्ने अपानीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्