Logo
Logo

मध्यपूर्वमा रहेका १७ लाख २९ हजार नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा


315
Shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली कार्यरत रहेको जनाउँदै उनीहरूको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ।

शनिबार अमेरिका–इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा फैलिँदा आइतबार मन्त्रालयले पत्रकार सम्मेलनमार्फत त्यहाँ रहेका नेपाली नागरिकको अवस्था र सुरक्षा सुनिश्चित गर्न सरकारका तयारीको जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।

सरकारले तनावग्रस्त देशमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न दूतावास तथा नियोगसँग ह्वाट्सएप जस्ता डिजिटल प्लेटफर्ममार्फत समन्वय गरिरहेको छ। साथै, रजिस्ट्रेसन प्लेटफर्म निर्माण गरी कन्सुलर सेवा विभागमार्फत नेपाली नागरिकको उद्धार र आवश्यक सहायताका लागि तयारी भइरहेको छ।

परराष्ट्र मन्त्रालयले युद्धको परिस्थितिलाई नियाल्दै छिमेकी मुलुक र सम्बन्धित देशको तत्परताअनुसार उद्धार रणनीति अगाडि बढाउने जनाएको छ।

सहसचिव खड्काका अनुसार युद्धको दौरान नेपाली नागरिक मध्यपूर्वमा विभिन्न अवस्थाहरूमा अलपत्र पर्न सक्छन्। त्यसैले सरकार र सम्बन्धित निकायले उद्धारका लागि तत्काल कदम चाल्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्