
एजेन्सी । इजरायली सेनाले लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ ।
इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउन थालेको जानकारी दिएको छ । जुन क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ ।
यता अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको जनाएको छ । बेरुत र दक्षिण लेबनानका विभिन्न भागमा धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कठोर प्रहार गर्ने चेतावनी दिएको र खाडी राष्ट्रहरूले समेत इरानी आक्रमणको निन्दा गरेको पृष्ठभूमिमा इजरायलले हिजबुल्लाहमाथि यो आक्रमण सुरु गरेको समाचारमा उल्लेख छ । आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।











