काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताएका हुन् । उनले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गरे । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्यधिक मतले जिताउन आग्रह गरे । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए ।
ओलीले भने, ‘ अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन ।’
जनताले कसले देश जलाएको त्यो देखिसकेको बताउँदै ओलीले भने, ‘देश जलाउनेलाई होइन देश बचाउनेलाई देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ । हामी त्यस कुरामा सचेत छौँ भन्ने मैले ठानेको छु, मैले विश्वास गरेको छु ।’ ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताए ।











