
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा गरेकी छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको बताइन् ।
आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उनले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गरिन् ।
उनले भनिन्, ‘ निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् । तर म आग्रह गर्छु– होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ । अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ । आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।’
अन्तरिम सरकार आफ्नो मुख्य दायित्व (निर्वाचन गराउने) पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारिन् ।











