Logo
Logo

प्रतिनिधिसभा निर्वाचन: सातै प्रदेशमा कडा सुरक्षा


1k
Shares

काठमाडौं । काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्च तहका अधिकारीलाई जिल्लामा खटाएको छ । सशस्त्र प्रहरीले बाहिनी तहबाट उच्च अधिकारीलाई खटाएको छ भने प्रहरी प्रधान कार्यालयले केन्द्रबाट पठाएको छ ।

सशस्त्रले डिआइजीलाई कमाण्ड दिदा प्रहरीले भने एआइजीलाई खटाएको छ । प्रहरीले ३१ जना एसएसपी र ४६ जना एसपीलाई विभिन्न जिल्लामा जिम्मेवारी तोकेर फिल्डमा पठाएको जनाएको छ । निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको हो । सशस्त्रले सबै जिल्ला हेर्नेगरी सम्बन्धित बाहिनीलाई निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार खटाइएका एसएसपी र एसपीहरूलाई दुई–दुई जिल्लासम्मको समन्वय गर्ने जिम्मेवारी दिइएको छ । निर्वाचनको बेला हुनसक्ने सम्भावित सुरक्षा चुनौती, आचारसंहिता उल्लंघन, मतदाता धम्की, अवाञ्छित गतिविधि तथा सीमावर्ती क्षेत्रका जोखिमलाई नियन्त्रण गर्न उनीहरूलाई विशेष निर्देशनसहित पठाइएको बताइएको छ ।

उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र थप पाँचजना एसएसपीलाई फिल्ड कमान्डको जिम्मा दिइएको छ । मतदान केन्द्रको घनत्व, जनसंख्याको चाप र राजनीतिक सक्रियता बढी हुने भएकाले उपत्यकामा अतिरिक्त सुरक्षा व्यवस्थापन गरिएको हो । निर्वाचनको समयमा राजधानी क्षेत्रमा कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको प्रहरी स्रोतले जनाएको छ ।

यसपटक तराई–मधेशका जिल्लामा धेरै एसएसपी खटाइएको छ । खुला सीमा, उच्च राजनीतिक प्रतिस्पर्धा, विगतमा देखिएका आचारसंहिता उल्लंघनका घटना तथा संवेदनशील मतदानस्थलको संख्यालाई ध्यानमा राखेर तराई क्षेत्रमा उच्च तहको नेतृत्व परिचालन गरिएको हो । सीमावर्ती जिल्लामा विशेष निगरानी बढाइएको छ भने आवश्यक परे सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँग समन्वय गरी संयुक्त सुरक्षा योजना कार्यान्वयन गर्ने तयारी छ ।

पहाडी र हिमाली जिल्लाहरूमा भने एसपीहरूलाई मुख्य रूपमा समन्वयको जिम्मेवारी दिइएको छ । ती जिल्लामा भौगोलिक विकटता, सञ्चार तथा यातायातको कठिनाइ र मौसमीय अवस्थालाई ध्यानमा राखेर सुरक्षा योजना बनाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्गम क्षेत्रमा मतदान सामग्री ढुवानी, मतपेटिका सुरक्षित राख्ने तथा मतदानपश्चात मतगणना स्थलसम्म सुरक्षीत रूपमा पु¥याउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन काठमाडौं उपत्यकाबाट १३ हजार प्रहरी कर्मचारीलाई बाहिरका जिल्लामा खटाइएको छ । यसले स्थानीय प्रहरीको क्षमतामा थप बल पुग्ने अपेक्षा गरिएको छ । अतिरिक्त जनशक्ति परिचालनले मतदानस्थलको सुरक्षा, गस्ती, चेकजाँच तथा आकस्मिक अवस्थामा तत्काल प्रतिक्रिया दिन सहज हुने प्रहरीको विश्वास छ ।

यसअघि नै ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई दुई साताअघि जिल्लामा पठाइसकिएको थियो । उनीहरूले जिल्लास्थित सुरक्षा समितिसँग समन्वय गरी मतदान केन्द्रको वर्गीकरण, जोखिम मूल्यांकन तथा आवश्यक सुरक्षाकर्मीको परिचालन योजना तयार गरिसकेका छन् । धेरै जिल्लामा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मीको संख्या निर्धारण गरिएको छ ।

निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत फैलन सक्ने अफवाह, गलत सूचना तथा भ्रामक प्रचारप्रसारलाई पनि सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ । साइबर ब्युरोसँग समन्वय गरी डिजिटल निगरानी बढाइएको छ । मतदातामा भ्रम सिर्जना गर्ने, साम्प्रदायिक वा क्षेत्रीय सद्भाव बिगार्ने खालका गतिविधि भएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ । निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिन र शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग सहकार्यको अपेक्षा गरिएको छ । यदि कुनै ठाउँमा झडप, तोडफोड वा अवरोधको प्रयास भएमा तत्काल नियन्त्रणमा लिन सुरक्षा योजना तयार अवस्थामा राखिएको जनाइएको छ ।

मतदानको दिन नजिकिँदै जाँदा देशभर सुरक्षा सतर्कता उच्चस्तरमा राखिएको छ । सीमा नाकामा कडाइ, शंकास्पद गतिविधिमाथि निगरानी, अवैध हतियार खोजी अभियान तथा रात्री गस्ती बढाइएको छ । आवश्यक परे थप जनशक्ति परिचालन गर्न सकिने गरी रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिएको प्रहरी स्रोतले जनाएको छ । यही समयमा नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल पनि देशभ्रमण गरेर काठमाडौं फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्