Logo
Logo

चुनावका दिन चलाउने छुट पाएका गाडीमा अन्य व्यक्ति बोक्न नपाइने


0
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन चलाउन छुट पाएका व्यक्तिबाहेक अन्यलाई गाडीमा चढाउन नपाइने जनाएको छ । आयोगले मंगलबार (फागुन १९) प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित व्यक्तिले मात्रै सवारीसाधन चलाउन अनुरोध गरेको हो ।

त्यसबाहेकलाई ओसारपसार गरेमा गाडी चलाउन रोक लगाइने आयोगले जनाएको छ । “सवारी आवागमन सहजीकरणका गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिस बमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो विपरीत गरे/गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाइनेछ ।”

आयोगले मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि जारी छ ।

साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्