Logo
Logo

एमालेले स्पष्ट पार्‍यो वरिष्ठ नेता विद्यादेवी भण्डारीको भूमिका


693
Shares

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको जिम्मेवारी र भूमिकालाई स्पष्ट पारेको छ।

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा भण्डारीको जिम्मेवारी स्पष्ट पारेको हो।

उक्त बैठकले एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो। अपानी अनुसार भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा रहनेछिन्। उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ। त्यस्तै, भण्डारीले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय गर्न योगदान पुर्‍याउने जिम्मेवारीसमेत पाएकी छन्।

‘वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने,’ अपानीमा भनिएको छ, ‘केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने।’

भण्डारीलाई दिइएको भूमिका सम्बन्धी निर्णय आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिने एमालेले जनाएको छ।

अपानीमा भण्डारीको नियुक्ति पार्टी विधानको धारा १०५ मा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था तथा धारा १३(क) मा रहेको दुई महाधिवेशनबीचको अवधिमा राष्ट्रिय महाधिवेशनप्रति उत्तरदायी भएर पार्टीको सर्वोच्च संस्थाको हैसियतमा निर्णय गर्न पाउने अधिकार प्रयोग गरेर गरिएको उल्लेख छ।

एमालेले यस निर्णयमार्फत वरिष्ठ नेता भण्डारीको पार्टीभित्रको औपचारिक भूमिका र जिम्मेवारीलाई थप स्पष्ट गरेको हो।

प्रतिक्रिया दिनुहोस्