Logo
Logo

आचारसंहिता विपरीत रक्सी बेच्ने ११ जना पक्राउ


630
Shares

काठमाडौ । प्रतिनिधिसभा निर्वाचनका लागि लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए ।

यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसललाई सिल गरिएको हो । जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको जनाएको छ । निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्