
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा दाङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्। उनी सो पाटीको लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।
उनले आफ्ना प्रतिस्पर्धी रहेका कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीलाई तेब्बर मतले पछि पारेर अग्रता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार हालसम्म ६ हजार ५११ मत गणना भएको छ। जसमा रास्वपाका उम्मेदवार पाठकले ३ हजार ९५९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १ हजार १८ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्। नेकपाका नेता मेटमणी चौधरीले ४७५ मत ल्याएका छन् भने रेवतीरमण शर्मा घिमिरेले ४५८ मत प्राप्त गरेका छन्। मेटमणिले यसअघि दुई पटक यो क्षेत्रबाट जितेका थिए ।
अन्य उम्मेदवारमध्ये मालिकाराम यादवले ७९, गणेश प्रसाद आचार्यले ७८, विनय वि.सी.ले ६६, कुल प्रसाद के।सी।ले ५९, प्रकाश शाहीले ५६ मत प्राप्त गरेका छन्।
यस्तै मीनबहादुर ठेदी मगरले १९ मत, भरतलाल चौधरीले ६ मत, खुम बहादुर गाहा मगरले ३ मत, मिताराम यादवले ३ मत र रञ्जित चौधरीले १ मत प्राप्त गरेका छन्। मतगणनामा हालसम्म २३१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
दाङ क्षेत्र नं। १ मा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।











