Logo
Logo

रञ्जु दर्शना : ‘सेलरोटी’ को हारदेखि ‘घण्टी’ को विजयसम्म


504
Shares

काठमाडौं । २१ वर्षको उमेरमा काठमाडौंको सडकमा ‘नेपाल बन्द’ को विरुद्ध उभिएर चर्चामा आएकी रञ्जु दर्शना अन्ततः ९ वर्षको निरन्तर संघर्षपछि देशको सर्वोच्च नीति निर्माण तह (प्रतिनिधिसभा) मा पुग्न सफल भएकी छन् । बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उनले सानदार जित दर्ता गरेकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएर दोस्रो स्थानमा चित्त बुझाए भने राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो भए ।

मैतीदेवीकी स्थायी बासिन्दा र स्नातक तहसम्म अध्ययन गरेकी रञ्जु वैकल्पिक राजनीतिको वकालत गर्दै १७ वर्षकै उमेरमा २०७० सालदेखि विवेकशील नेपाली पार्टीमार्फत राजनीतिमा जोडिएकी थिइन् । त्यसबेला राजनीतिक दलहरूले गर्ने ‘नेपाल बन्द’ ले नागरिकलाई दिएको सास्तीविरुद्ध ‘बन्द बहिष्कार अभियान’ सञ्चालन गरेर उनले आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।

राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय उनी २०७२ सालको महाभूकम्पपछि राहत र पुनस्र्थापना कार्यमा अहोरात्र खटिइन्। भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले सुरु गरेको सत्याग्रहमा पनि रञ्जु सहयोगी भूमिकामा अग्रपङ्क्तिमा देखिने गर्थिन् ।

उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो मोड २०७४ सालको स्थानीय तह निर्वाचनमा आयो । मात्र २१ वर्षको उमेरमा ‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाऔँ’ भन्ने नारासहित महानगरको मेयर पदमा उम्मेदवारी दिँदा उनले २३ हजार ४३९ मत प्राप्त गरी राष्ट्रिय चर्चा कमाएकी थिइन् । यद्यपि, त्यसबेला उनी तेस्रो स्थानमा सीमित भइन् ।

पार्टीभित्रको आन्तरिक कलहका कारण २०७८ मा विवेकशीलबाट राजीनामा दिएर केही समय स्वतन्त्र रहेकी रञ्जुले २०७९ को निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन् । तर, उक्त चुनावमा जम्मा ६०० मत मात्र पाएर उनी पराजित भइन् ।

हारबाट विचलित नभई अघि बढेकी रञ्जु केहि समय अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी थिइन् । अन्ततः रास्वपाकै उम्मेदवार बनेर काठमाडौं–१ बाट चुनावी मैदानमा उत्रिएकी उनले यसपटक संसद्को ढोका खोल्न सफल भइन्। सडकको आन्दोलन र नागरिकका सास्तीलाई नजिकबाट नियालेकी रञ्जुको यो जितलाई वैकल्पिक राजनीतिको निरन्तरता र सफलताको रूपमा हेरिएको छ

प्रतिक्रिया दिनुहोस्