
काठमाडौं । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले आफू अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। शुक्रबार वक्तव्य जारी गर्दै उनले आगामी दिनमा व्यवसायसँगै समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका हुन्।
बस्नेतले गत भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा विचलित बनाएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको शक्तिशाली आवाज थियो।
बस्नेतले उक्त विद्रोहले देशलाई नयाँ दिशातर्फ लैजान सक्ने आशा जगाएको बताए। सोही विश्वासका आधारमा उनी सुशासन, दिगो रोजगारी र समतामूलक विकासको लक्ष्यसहित गतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भई केन्द्रीय सदस्यको रूपमा काम गरेका थिए।
तर, हालको राजनीतिक संस्कार आफ्नो मूल्य र आत्मासँग मेल नखाएको भन्दै उनले दलबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको प्रेमले खोजेको योगदान दिन सकिँदैन भन्ने मैले महसुस गरेँ।’
अब आफू स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा देश र समाजको सेवामा लाग्ने उनले बताएका छन्। आगामी दिनमा उनले स्थानीय तथा प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि र गुणस्तरीय माध्यमिक शिक्षाजस्ता क्षेत्रमा काम गर्ने योजना व्यक्त गरेका छन्।











