Logo
Logo

ओलीदेखि राउतसम्मको लज्जास्पद हार !


1.5k
Shares

काठमाडौं । २०७९ मङ्सिरको निर्वाचनले सात दललाई राष्ट्रिय पार्टीको गरिमामय पहिचान दिलाएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टी । यी सात दलको सङ्घीय संसद्मा उपस्थिति र मतको आधारले उनीहरूलाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

तर समयको चक्र घुम्यो, जनताको आक्रोश र आशाले नयाँ बहाव सिर्जना ग¥यो । र २०८२ निर्वाचनले इतिहासको एउटा नयाँ अध्याय लेखिदियो । जहाँ पुराना शक्तिहरूको आधार खस्कियो, र नयाँ लहरले पुराना दलका अध्यक्षहरूलाई एकपछि अर्को गरी पराजित ग¥यो । 

यो निर्वाचन केवल मतको खेल थिएन, यो थियो पुरानो राजनीतिक संस्कृतिप्रति जनताको मौन विद्रोह । जसले २०७९ मा राष्ट्रिय पार्टी बनेका पाँच दलका अध्यक्षहरू गगन थापा, केपी शर्मा ओली, राजेन्द्र लिङदेन, उपेन्द्र यादव र डा। सिके राउत सबैले हारको कटु स्वाद चाख्नुप¥यो ।

उनीहरूको पराजय मात्र होइन, उनीहरूका पार्टीका उम्मेदवारहरू पनि सीमित सङ्ख्यामा मात्रै विजयी भएका छन् । यो हारले पुरानो नेतृत्वको विश्वसनीयता मात्र होइन, उनीहरूको राजनीतिक भविष्यलाई नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको  छ ।

सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा रास्वपाका डा। अमरेश कुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मात्रै प्राप्त गरे । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको पराजय अझ बढी चर्चित बन्यो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ६८ हजार ३४८ मतसहित विजय हासिल गर्दा ओलीले जम्मा १८ हजार ७३४ मत मात्रै ल्याए ।

यो मतान्तरले ओलीको लामो राजनीतिक यात्रामा एउटा कटु अध्याय थपिदियो । जहाँ जनताले पुरानो शैली र पुराना वाचालाई अस्वीकार गरे । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ मा रास्वपाका प्रकाश पाठकसँग दोब्बरभन्दा बढी मतले पराजित भए । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङदेनले १७ हजार २९४ मात्रै प्राप्त गरे । यो हारले राजतन्त्रवादी विचारधारालाई पनि नयाँ चुनौती दिएको छ । 

सप्तरी–३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रास्वपाका अमरकान्त चौधरीसँग दोब्बरभन्दा बढी मतले पराजित भएका छन् । चौधरीले २९ हजार ९४३ मत ल्याउँदा यादवले १३ हजार ४३५ मात्रै पाए ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी–२ मा तेस्रो स्थानमा रहे । रास्वपाका रामजी रामले २२ हजार १११ मतसहित अग्रता लिँदा उमेशकुमार यादवले १० हजार ५४९ मतसहित दोस्रो स्थानमा थिए, र राउत ७ हजार ९८३ मतसहित पछाडि परे । 

यी पाँच अध्यक्षको पराजयसँगै जसपा नेपाल र जनमत पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व नै समाप्त हुने निश्चित भइसकेको छ ।

राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत आवश्यक पर्छ, तर यी दुवै दलले प्रत्यक्षमा कुनै सिट जित्न सकेनन् । २०७९ को निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो, एमाले ७८ सिटसहित दोस्रो, माओवादी केन्द्र ३२ सिटसहित तेस्रो, रास्वपा २० सिटसहित चौथो बनेको थियो । तर २०८२ मा रास्वपाका सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै निर्वाचित भएका छन् । बाँकी सबै अध्यक्षहरूको यात्रा हारमा टुङ्गिएको छ । 

प्रतिक्रिया दिनुहोस्