Logo
Logo

कांग्रेस पार्टी एउटा, महाधिवेशन दुई वटा


189
Shares

काठमाडौं । देशकै पुरानो लोकतान्त्रिक दलमध्ये एक नेपाली कांग्रेस अहिले यस्तो मोडमा पुगेको छ, जहाँ एउटै पार्टीका दुई पक्षले बेग्ला बेग्लै महाधिवेशन गरिरहेका छन् । सभापति गगन थापा नेतृत्वको पक्षले १५औँ महाधिवेशन असोज १८मा उद्घाटन भई अबको दुई दिनमा समापनको चरणमा प्रवेश गर्दै छ । अर्कोतर्फ निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै मङ्सिरमा छुट्टै महाधिवेशनको बाटो रोजेको छ । कानुनी रूपमा कांग्रेस अझै एउटै पार्टी भए पनि सङ्गठनात्मक रूपमा दुई समानान्तर संरचनामा देखिएका छन् ।

यही अवस्थाले कांग्रेसभित्रको विवादलाई सामान्य गुटबन्दीबाट निकालेर वैधानिकता र अस्तित्वको संघर्षमा पु¥याएको छ । विवादको केन्द्रमा एउटा मूल प्रश्न छ- काँग्रेसको वैधानिक नेतृत्व कसको? गगन थापाले विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशनसम्म लैजाँदा व्यवहारिक रूपले थापाकै नेतृत्व कायम देखिन्छ । तर अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि पुरानो नेतृत्व संरचना विस्थापित भयो । थापा नेतृत्वले त्यसै आधारमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएन मात्र सबै दलका प्रतिनिधिलाई राखेर उद्घाटन नै गरिदियो । तर देउवा पक्षले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई स्वीकार गरेको छैन । देउवा पक्षको तर्क छ-१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल कायम रहेकाले त्यही नेतृत्वले १५औँ महाधिवेशन आयोजना गर्नुपर्ने हो । यही दाबीका आधारमा देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यक्रम अघि सारेको हो ।

यसरी काँग्रेसको विवाद अब भाषण र बैठकमा मात्र सीमित छैन । वडा तहसम्मै दुई राजनीतिक दाबीको प्रभाव पुग्न थालेको छ । पूर्वसभापति देउवा पक्षले आगामी मङ्सिरमा महाधिवेशनको मिति घोषणा गरिसकेको छ । वडा तहदेखि छुट्टै सङ्गठनात्मक प्रक्रिया अघि बढाइसकेको छ । देउवा पक्षले आफ्नो कदमलाई पार्टी फुटाउने प्रयास नभई पार्टीको संस्थागत प्रक्रिया जोगाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । तर व्यवहारमा एउटै पार्टीभित्र दुईवटा महाधिवेशन सञ्चालन हुने अवस्था आफैँमा विभाजनको गम्भीर संकेत हो ।

राजनीतिक दलमा महाधिवेशन केवल नेतृत्व चयनको कार्यक्रम मात्र होइन, महाधिवेशनले संगठनको वैधानिकता निर्धारण गर्छ । जब एउटै पार्टीमा दुई महाधिवेशन हुन्छन् भने त्यसपछि प्रश्न उठ्छ– कसको प्रतिनिधि वैध ? कसको समिति वैध ? कसको सभापति वैध ?

कांग्रेस अहिले यही प्रश्नको भूँमरीमा छ । यही प्रश्नले देउवा पक्षमै चिरा परेको छ । देउवासँग निकट मानिएका ३० भन्दा बढी नेता थापा नेतृत्वको संरचनातर्फ लागेका छन् । महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा यो सङ्ख्या बढेको छ । आइतबार काठमाडौँको खुल्लामञ्चमा थापा नेतृत्वको १५औँ महाधिवेशन सुरु हुँदै गर्दा कांग्रेसका धेरै नेता मूलधारको महाधिवेशन प्रक्रियामा फर्किएका छन् । यद्यपि, देउवा र उनका केही प्रमुख समर्थक समानान्तर प्रक्रियामै छन् ।

यसले देउवा पक्षको समानान्तर महाधिवेशनलाई थप राजनीतिक चुनौती दिएको छ । तर यसलाई देउवा पक्ष पूर्णतः कमजोर भइसकेको निष्कर्षमा पु¥याउने आधार भने मान्न सकिँदैन । उनी पक्षले आफ्नो कदमलाई कानुनी तथा संस्थागत दाबीका रूपमा प्रस्तुत गरिरहेको छ र अदालतको प्रक्रियालाई पनि आफ्नो पक्षमा निर्णायक मान्दै आएको छ ।

काँग्रेसको संकटको अर्को महत्त्वपूर्ण पाटो अदालत हो । विशेष महाधिवेशन र त्यसबाट बनेको थापा नेतृत्वको वैधानिकतालाई लिएर कानुनी विवादसमेत चलिरहेको छ । सर्वोच्च अदालतले यसअघि गगन थापा नेतृत्वलाई मान्यता दिएको फैसलामाथि पुनरावलोकनको बाटो खोलेपछि देउवा पक्षले आफ्नो दाबीलाई थप बलियो भएको ठानेको छ । थापा पक्षले भने महाधिवेशन रोक्न अस्वीकार गर्दै सङ्गठनात्मक प्रक्रिया अघि बढाएको छ । काठमाडौँको खुलामन्चमा बन्दसत्र चलिरहेको छ । अर्थात् काँग्रेसको राजनीतिक विवाद अब अदालत र संगठन-दुवै मोर्चामा समानान्तर रूपमा चलिरहेको छ ।

विभाजनको इतिहास

२०५९ सालमा पनि नेतृत्व विवादका कारण शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएको थियो । पछि नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक)बीच एकता भयो । आजको अवस्था त्यही घटनाको पुनरावृत्ति हो भनेर निष्कर्ष निकाल्न सकिँदैन । तर इतिहासले एउटा तथ्य भने सम्झाउँछ, कांग्रेसभित्रको गुटगत संघर्ष जब सङ्गठनात्मक संरचनामा पुग्छ, त्यसको परिणाम केवल नेतृत्व परिवर्तनमा मात्र सीमित रहँदैन, अहिले त्यही जोखिम फेरि देखिएको छ ।

काँग्रेसको वर्तमान संकटलाई केवल गगन थापा र शेरबहादुर देउवाबीचको नेतृत्व संघर्षका रूपमा हेर्नु अपूरो हुन्छ । काँग्रेसको सङ्गठनात्मक निरन्तरता कसले बोकेको छ? १४औँ महाधिवेशनबाट आएको संरचना कि विशेष महाधिवेशनबाट आएको नयाँ संरचना ? यी प्रश्नको राजनीतिक र कानुनी समाधान नआएसम्म काँग्रेसको विवाद सकिने सम्भावना कम छ ।

अहिले कांग्रेस औपचारिक रूपमा विभाजित भएको छैन । तर एउटै पार्टीभित्र दुई महाधिवेशनको तयारी, छुट्टाछुट्टै सङ्गठनात्मक गतिविधि र नेतृत्वको वैधानिकतामाथिको परस्पर दाबीले पार्टीलाई गम्भीर संकटमा पु¥याएको छ । एकातिर थापा नेतृत्व पार्टीको नयाँ संरचना संस्थागत गर्ने प्रयासमा बन्दसत्र चलाइरहेको छ भने अर्कोतिर देउवा पक्ष आफ्नो वैधानिक दाबीबाट पछि हटेको छैन । काँग्रेसको संकट अब नेतृत्व परिवर्तनको विवाद मात्र रहेन । यो पार्टी एउटै संगठनका रूपमा टिक्ने कि दुई राजनीतिक संरचनामा जाने भन्ने निर्णायक मोडमा पुगेको विवाद हो ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अवैधानिक ठान्दै आफ्नो अनिश्चित यात्रामा हिँडिरहेका देउवाले आफ्नै निकटतम सारथिहरू गुमाएका छन् । उनलाई जीवनभर साथ दिएका नेताहरू अहिले उनको बाटोमा छैनन् ।जेनजी आन्दोलनपछि देउवाको नेतृत्वमाथि गगन थापा लगायतका नेताहरूले प्रश्न उठाएका थिए । त्यही प्रश्नको जग बलियो हुँदै गएको देउवाले भेउ पाएनन् । विशेष महाधिवेशनले उनलाई नेतृत्वबाटै हटायो । ६ दशक लामो लोकतान्त्रिक आन्दोलनको इतिहास भएका देउवा आफू विरुद्ध लोकतान्त्रिक तरिकाले उठेका प्रश्नहरूलाई स्विकार्न तयार भएनन् ।

यो कुरातर्फ इंगित गर्दै आइतबार सभापति गगन थापाले खुलामञ्चको बिम्ब प्रयोग गर्दै भने,’ खुलामञ्चको विशेषता फरक मान्छेलाई एकैठाउँमा ल्याइदिन्छन् । तर,खुलामञ्चमा आएपछि सबै मतभेद सकिँदैनन् । यस्ता खुलामञ्च धेरै चाहिएको छ । प्रश्न गर्दा सदस्यताबाट ननिकालियोस् ।’थापा तिनै व्यक्ति हुन् जसलाई विधानको वैधानिक व्यवस्था अन्तर्गत विशेष महाधिवेशनको माग गर्दा देउवाले सदस्यबाटै निकालेका थिए ।

सभापति थापाले देउवालाई एउटा कटु यथार्थ पनि सम्झाए । ‘ढोकामा गएर कसले कतिपटक सलामी दियो भन्ने आधारमा शेरबहादुर देउवाको मान रहने होइन । शेरबहादुर देउवाले बनाएको पार्टीलाई कति फराकिलो बनायो भन्ने आधारमा रहने हो,’ उनले भने ।देउवाको इतिहासको मान आफूहरूले गर्ने भन्दै उनले त्यही मानका खातिर महाधिवेशन मञ्चमा स्थान छुट्याइएको उनको धारणा थियो ।

इतिहासमै सबै भन्दा धेरै प्रतिनिधिहरूबाट नेतृत्व र नीतिगत रुपान्तरण गर्नेगरी हुन लागेको महाधिवेशनबाट राजनीतिक उत्तरार्धमा आफ्नो इतिहास बनाउने अवसर देउवाले गुमाएका छन् । देउवा नेपाली राजनीतिका यस्ता पात्र हुन्, जसको लामो राजनीतिक इतिहास छ । जेल परेका छन् । चुनाव जितेर गृहमन्त्री हुँदै पाँचपटकसम्म प्रधानमन्त्री पनि भए ।

२०५९ सालमा पार्टी फुटाए, फेरि पार्टीमै फर्किए । पार्टी फुटाएर फर्किएपछि पनि पार्टी संस्थापनको रूपमा रूपान्तरित भए । महाधिवेशनको यो विशेष अवसरमा देउवा छुट्दा काँग्रेसले उनको साथमा रहेका केही दोस्रो तहका नेताहरू गुमाएको छ । जस्तो बिपी कोइरालाका छोरा समेत रहेका शशांक कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि, शेखर कोइराला आदी । त्यसैगरी पूर्णबहादुर खड्का, बद्री पाण्डे जस्ता नेताहरूसहित केही पुराना कार्यकर्ताहरू छुटेका छन् । तर देउवा स्वयंका लागि भने आफ्नो करिब ६ दशक लामो इतिहासको एउटा महत्त्वपूर्ण अध्याय छुट्यो ।

उनले राजनीतिमा जित्न बाँकी केही थिएन । जस्तो-पाँचपटक प्रधानमन्त्री भइसके । २ पटक काँग्रेसको सभापति बने । पार्टी फुटाएर पनि संस्थापन बने । पार्टीभित्रका आफ्ना समकालीन धेरैलाई पछाडि पारेर नेतृत्वमा आएका थिए । कहिले राजासँग लडे । कहिले पार्टीभित्रको कोइराला परिवारको एकाधिकारविरुद्ध उभिए । हरेक चुनावमा जनताको मन जिते । जीवनको उत्तरार्धमा उनले अब स्वाभाविक रूपमा नेतृत्व हस्तान्तरण गरेको भए उनले अर्को जीत हासिल गर्ने अवस्था थियो त्यहीबाट चुकेर अर्को महाधिवेशनको भाउतो सजाउन लागे ।

प्रतिक्रिया दिनुहोस्