
काठमाडौं । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
आज बिहान मकवानपुर २ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् ।
यस्तै क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको हार निश्चितजस्तै बनेको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
फेसबुकमा उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले परिणामको जिम्मेवारी स्वीकार गर्दै आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।
पोखरेलले शीर्ष नेतृत्वले समेत पराजयको नैतिक जिम्मेवारी लिएर आवश्यक परे पद त्याग गर्दै पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनी २०८१ जेष्ठ २१ मा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।











