
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा पाएको छ ।
निर्वाचन आयोगका अनुसार यी तीनै क्षेत्रमा रास्वपाले पाएको मत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मत भन्दा झण्डै दोब्बर छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाले समानुपातिकतर्फ ६० हजार ४० मत प्राप्त गरेको छ । रास्वपाले यो क्षेत्रमा २०७९ मा २८ हजार ४०१ मत प्राप्त गरेको थियो। अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फ ५९ हजार २७७ मत प्राप्त गरेर सोबिता गौतम विजयी भएकी छन् ।
रास्वपाले क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ ५४ हजार ५०९ प्राप्त गरेको छ । २०७९ मा त्यहाँबाट ३५ हजार ९ सय ४५ मत प्राप्त गरेको थियो । अहिले त्यस क्षेत्रबाट रवि लामिछाने ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्।
क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिकमा मत ५९ हजार २४३ प्राप्त गरेको छ । २०७९ मा ३४ हजार ६९१ मत प्राप्त गरेको थियो । प्रत्यक्षतर्फ रास्वपाका हरि ढकाल ५८ हजार २०२ मत प्राप्त गरेर विजयी भएका छन् ।
तीन वटा क्षेत्रबाट रास्वपाले १ लाख ७३ हजार ७९२ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा ९९ हजार ३७ मत पाएको थियो ।
यी तीनवटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ २०७९ को भन्दा कम मत प्राप्त गरेका छन् ।











