
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा होमिएका ५ पूर्वअर्थमन्त्रीमध्ये एक मात्र विजयी भएका छन् ।
पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, डा. प्रकाशशरण महत र वर्षमान पुन चुनावी मैदानमा उत्रिएका थिए । तर, पुन मात्रै निर्वाचित भएका हुन् । दुई पटक अर्थमन्त्री भइसकेका पुनले रोल्पाबाट चुनाव जितेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुन २७ हजार ४६० मतसहित विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ल्याएका थिए ।
पाँच पटक अर्थमन्त्री बनेका नेकपा एमाललेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट पराजित भएका हुन् । रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेल १२ हजार ८६१ मा रोकिए ।
दुई पटक अर्थमन्त्री भइसकेका जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित हुन पुगे । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका शर्मा तेस्रो स्थानमा सिमित हुन पुगे। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ ल्याँदा जनार्दन १४ हजार ३४६ मतमा रोकिए ।
एक÷एक पटक अर्थमन्त्री बनेका नेपाली काँग्रेसका प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्की पनि पराजित हुन पुगे । प्रकाशशरण महत रास्वपाका विक्रम तिमिल्सिनासँग पराजित भए। नुवाकोट–१ मा तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी हुँदा महत १८ हजार ५९७ मतमा रोकिए ।
ज्ञानेन्द्र बहादुर कार्की रास्वपाका दीपक कुमार साहसँग पराजित भए । सुनसरी–४ मा साहले ४२ हजार ७७१ मत पाउँदा कार्की १६ हजार ५८७ मतमा रोकिए ।











