Logo
Logo

संसदमा अनुभवको कमी, शीर्ष नेताहरू संसदबाहिर


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा तीन जना बाहेक सबै पार्टी अध्यक्ष तथा सभापतिहरू संसदबाहिर रहेका छन् । रास्वपा सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डबाहेक यसअघि ठूला भनिएका दलका शीर्ष नेताहरू संसद बाहिर छन् ।

झापा–५ बाट उठेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र झापा–३ बाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन,नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा पराजित भइसकेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ र जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ पराजित भैसकेका छन् । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ मा पराजित भइसकेका छन् ।

झापा–५ मा ओलीले पहिलो पटक २०६४ मा हार खेपेका थिए । यसपटक दोस्रो हार खेप्दा उनी मतान्तरमा पनि निकै पछाडि परे । योसँगै झापा–५ लाई आफ्नो क्षेत्र भन्दै आएका ओलीको बोली खण्डित मात्र भएको छैन, आगामी राजनीतिक यात्रामा समेत ब्रेक लागेको छ । ओलीले यसअघि झापा–५ बाट २०४८, २०५१ र २०५६ सालको चुनाव जितेका थिए ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा पराजित भए पनि त्यसयताका तीनवटै संसदीय चुनाव २०७० साल, २०७४ र २०७९ मा जितेका थिए ।

चुनाव जितेका मात्र होइनन्, उनी संसदीय राजनीतिको शीर्ष स्थानमा रहँदै आएका नेता हुन् । २०५१ सालमा गृहमन्त्री भए । २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बने । २०७२, २०७४ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भएका थिए ।

यस पटकको निर्वाचनले सात दशक पुरानो दल नेपाली कांग्रेसलाई पनि धक्का दिएको छ । जेनजी आन्दोलनको पृष्ठभूमिमा पुराना दलहरू भित्र नेतृत्वमा पुस्तान्तरणको बहस चल्यो । त्यसमा गगन थापा सफल भए । शेरबहादुर देउवालाई हटाएर आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाए । तर संसदीय चुनाव आफैँले समेत जित्न सकेनन् ।

विगतमा निरन्तर काठमाडौं–४ बाट चुनाव जित्दै आएका गगन थापा विशेष महाधिवेशनबाट सभापति भएसँगै सर्लाही–४ मा चुनाव लड्न गए । रास्वपाबाट उम्मेदवार बनेका अमरेशले थापालाई पराजित गरे । ३५ हजार ६८८ मत ल्याएर अमरेश सिंह विजयी हुँदा गगन थापाले २२ हजार ८३१ मत मात्रै ल्याउन सके । सिंहले थापालाई १२ हजार ८५७ मतले पराजित गरे ।

गगन थापा र अमरेश सिंह दुवैको संसदीय यात्रा सँगसँगै जस्तो सुरु भएको हो । अमरेश संसदीय यात्रा २०६३ मा अन्तरिम संसद्बाट सुरु भएको हो । त्यसबेला उनी कांग्रेसका तर्फबट सांसद बनेका थिए । गगन थापा पनि २०६४ मा समानुपातिक सांसद भएर संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । यसपटक गगनको संसदीय यात्रामा अमरेशले ब्रेक लगाइदिए ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे, शक्ति बस्नेतलगायत नेताहरू पनि पराजित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई उनको संसदीय यात्रा रास्वपाका प्रकाश पाठकले रोकिदिए । झापा–३ बाट रास्वपाका प्रकाश ३८ हजार ६७४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याउन सके । पाठकले लिङ्देनलाई २१ हजार ३८० मतले हराइदिए ।

यसअघि २०७४ सालको निर्वाचन र २०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन एमालेसँग गठबन्धन गरेर विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा राप्रपाबाट एक्लै प्रत्यक्ष जितेका लिङ्देन त्यही बलमा पार्टीको अध्यक्ष भए । तर यसपटक रास्वपाको लहरका बीच लिङ्देनको संसदीय यात्रामा ब्रेक लाग्यो ।

मुलुककै नेतृत्व गर्ने महत्वकांक्षा राखेका कुलमान घिसिङलाई बालेनका सिपाहीले हराइदिए । नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङलाई संसदीय राजनीतिको पहिलो खुड्किलो सुखद रहेन । काठमाडौं–३ बाट उम्मेदवार रहेका घिसिङलाई रोक्दै रास्वपाका राजुनाथ पाण्डे विजयी भए । १८ हजार ७५७ मत ल्याएर राजुनाथ विजयी हुँदा कुलमान दोस्रो भए । अध्यक्ष कुलमानले ११ हजार १७१ मत ल्याए । पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भए ।

उपेन्द्र यादवलाई पनि यसपटक रास्वपाको वेगले सफल हुन दिएन । उपेन्द्रलाई रोक्दै सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरी निर्वाचित भए । चौधरीले निकटतम प्रतिद्वन्द्वी उपेन्द्रलाई साढे १७ हजारभन्दा बढी मतान्तरले हराइदिए । रास्वपाका चौधरी ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले जम्मा १५ हजार २३९ मत पाए ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई अनुभवी राजनीतिक खेलाडीको रूपमा लिने गरिन्छ । उनै अनुभवी राजेन्द्रलाई रोकेर रास्वपाका रविन महतो संसदीय बाटोमा लागे । जनमत पार्टीका अध्यक्ष सीके राउतको संसदीय राजनीति पनि रोकिएको छ । राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन् । २८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउतले केवल ९ हजार ८८० मत प्राप्त गरे ।

यसैगरी कांग्रेसमहामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहमन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही पराजित भएका छन् । त्यस्तै, वरिष्ठ नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेताहरू पनि रोकिएका छन् ।

त्यसैगरी, एमालेका उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र डा राजन भट्टराई, वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे, प्रदीपकुमार ज्ञवालीलगायत पनि रोकिएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता कमल थापालगायत पराजित भएका छन् । मिश्रले त अब चुनाव नै नलड्ने घोषणा गरिसकेका छन् । २०४८ देखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी पनि यस निर्वाचनमा संसदीय यात्राबाट बाहिर भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहदेखि एमालेबाट टिकट लिएर उठेका पर्साका प्रदीप यादवसम्म बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्