
भ्रष्टाचार, कुशासन, बेरोजगारी, महँगी, अराजकता र चरम राजनीतिक निराशाकाबीच गुज्रिएको नेपाल जेनजी व्रिदोहका कारण फागुन २१ ग्ते सम्पन्न निर्वाचनबाट परिवर्तनको चरणमा प्रवेश गरेको छ । राजनीतिबाट टाढा रहेका पुस्ताहरू एकै पटक संसदीय यात्रामा सफलताका साथ पुगेका छन् । परम्परागत दलप्रति बढ्दो असन्तुष्टि, शासनप्रणालीप्रति जनताको निराशा र नयाँ राजनीतिक संस्कृतिको खोजीले नयाँ शक्तिहरूको उदयसँगै नयाँ पुस्ताको राजनीतिक यात्रा सम्भव भएको हो ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनले युवा पुस्तालाई देश निर्माणको बलियो अभिभारा सुम्पेको छ । नेपाली जनताले सामान्य बहुमत मात्र होइन करिब करिब दुई तिहाइको मत दिएर एकल सरकार चलाउने अभिमत प्रदान गर्नु सामान्य कुरा होइन । चार वर्षअघि खुलेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज नेपाली राजनीतिमा एउटा उल्लेखनीय शक्ति बन्दै नेपाली जनताले आशा र भरोसा प्रदान गरेका छन् । जनताको समर्थनसँगै अहिले रास्वपामाथि जिम्मेवारीको भारी पनि त्यत्तिकै बढेको छ ।
स्थापनाको पहिलो वर्षदेखि नै रास्वपाले आफूलाई ‘वैकल्पिक राजनीति’ शक्तिको रूपमा परिचय दिएको थियो । २०७९को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २१ सिटसँगै संसद् प्रवेश गरेको रास्वपाले त्यतिबेला नै स्थापित दलहरूलाई चुनौती दिएको थियो । यद्यपि कांग्रेस, एमाले र माओवादीजस्ता संसदीय दलहरूले रास्वपालाई कम आँकलन गरेका थिए । पटक पटक सत्तामा गएपनि काम गर्न नदिएको भन्ने प्रचारबाजीमा रास्वपा पहिलो हुँदै गएको थियो । फलतः भ्रष्टाचारविरुद्ध कठोर अडान, सुशासनको प्रतिबद्धता र पुरानो राजनीतिक संस्कृतिविरुद्धको असन्तोषलाई राजनीतिक मुद्दालाई रास्वपाले कसिलो बनाउँदै लग्यो । यसको परिणाम अहिलेको निर्वाचनमा ठूलो जनसमर्थन हासिल ग¥यो । विशेषतः युवा पुस्ता र सहर केन्द्रित मतदातामा रास्वपाप्रति आकर्षण देखियो । यसबाट नेपालको राजनीतिक धरातलमा धेरै वर्ष एउटा शक्ति वा अर्को शक्तिले गठबन्धन सरकार सञ्चालन गर्दा जनताको मागलाई उपेक्षा गरेकाले त्यही जगमा जेनजी विद्रोह जन्मेको कुरामा दुईमत छैन ।
जेनजीको जगमा रास्वपाले जसरी आफूलाई वैकल्पिक शक्तिको रूपमा स्थापित ग¥यो, अब उसको दायित्व देशमा भ्रष्टाचारको अन्त्य, सुशासन कायम गर्ने र आर्थिक विकासमा केन्द्रित हुन जरुरी छ । अब रास्वपाले असन्तुष्टि प्रकट गर्ने कुनै ठाउँ छैन । विगतमा असन्तुष्टिको प्रतिनिधित्व गरेर यहाँसम्म आएको यो दलले तमाम असन्तुष्टिको सम्बोधन आफैँले गनुपर्नेछ । उसले नीति, कार्यक्रम र व्यवहारमार्फत आफूले घोषणा गरेको राजनीतिक संस्कृतिलाई प्रमाणित गर्नुपर्छ । संसद्भित्र प्रभावकारी भूमिका, जनताका सरोकारका मुद्दामा स्पष्ट धारणा र राज्य सञ्चालनका विषयमा परिपक्व दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्छ ।
यस बीचमा रास्वपाका सभापति रवि लामिछाने को व्यक्तित्व र लोकप्रियताले पार्टीलाई छोटो समयमै राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको तथ्य अस्वीकार गर्न सकिँदैन । साथ साथै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहप्रति देखिएको जनउभारले रास्वपालाई बहुमत मात्र होइन दुई तिहाइको नजिक पु¥याएको यथार्थ हो । तर दीर्घकालीन राजनीतिक सफलताका लागि केवल एक–एक व्यक्तिको लोकप्रियता पर्याप्त हुँदैन । त्यसका लागि संस्थागत नेतृत्व, स्पष्ट नीति र सुदृढ संगठन निर्माण नै स्थायित्वका आधार हुन् । यदि पार्टीले संगठनात्मक रूपमा आफूलाई बलियो बनाउन सकेन भने लोकप्रियताको लहर समयसँगै कमजोर हुन सक्छ । अर्थात् भारतको नयाँ दिल्लीमा आएको आम आद्मी पार्टीको उभार जस्तै हुन सक्छ । यो कुरामा बुद्धि पु¥याउनुपर्छ ।
मुलधारको राजनीतिसँगै अर्को चुनौती संगठन विस्तारको पनि छ । नयाँ दल भएकाले रास्वपाको संरचना अझै धेरै स्थानमा कमजोर देखिन्छ । स्थानीय तहदेखि राष्ट्रिय तहसम्म सुदृढ संगठन निर्माण, योग्य र प्रतिबद्ध नेतृत्वको विकास तथा आन्तरिक अनुशासन कायम गर्नु पार्टीका लागि महत्त्वपूर्ण काम हुन् । अन्यथा, पार्टीभित्रै असन्तुलन र विवाद उत्पन्न हुने जोखिम कायमै छ ।
रास्वपाले सामना गरिरहेको अर्को वास्तविकता भनेको पुराना राजनीतिक शक्तिसँगको प्रतिस्पर्धा हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता दलहरूले दशकौँदेखि नेपाली राजनीतिमा प्रभाव जमाउँदै आएका छन् । उनीहरूको संगठनात्मक जालो, राजनीतिक अनुभव र शक्ति संरचना निकै बलियो छ । यस्तो अवस्थामा नयाँ दलका रूपमा आफूलाई दीर्घकालीन रूपमा स्थापित गर्नु सहज छैन । अहिले रास्वपालाई आएको मत कांग्रेस,एमाले र नेकपाको नेताहरूको बलमिच्याईको उपज पनि हो । भोली ती दलले आफूहरुलाई सच्याउँदै लगेको खण्डमा अहिलेको जनलहरमा कमी पनि हुनसक्छ । यही चुनौती रास्वपाका लागि अवसर पनि बन्दै छ ।
यदि उसले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई व्यवहारमा देखाउन सक्यो भने जनताको विश्वास स्थानीय तह र प्रदेशमा पनि अझ सुदृढ बन्न सक्छ । पुराना दलले गर्न नसकेको सरकारी संरचनाको सुधार गर्न पहल गर्न सके रास्वपा नेपाली राजनीतिमा वास्तविक परिवर्तनको वाहक बन्न सक्नेछ ।
अहिलेको अवस्थामा रास्वपाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जिम्मेवारी बोध हो । जिम्मेवारीको भारीलाई यथार्थमा परिणत गर्ने र जनताको सेवामा निरन्तर लाग्ने दायित्व रास्वपाको हो । तर, त्यो लोकप्रियतालाई विश्वासमा टिकाइराख्न निरन्तर प्रयास आवश्यक पर्छ । जनताले दिएको समर्थनलाई परिणाममा रूपान्तरण गर्न सके मात्र रास्वपा नेपाली राजनीतिमा दीर्घकालीन शक्ति बन्नेछ । होइन भने, यो पनि क्षणिक उत्साहको एउटा अध्यायमा सीमित हुन सक्छ भन्ने नेपाली राजनीतिको पुरानो दृष्टान्तलाई मनमा राखेर अगाडि बढ्नुमै उसको सफलता निर्भर हुन्छ ।











