काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्मा कुन पार्टीको कति संसद् हुने भन्ने निश्चित भएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने देखिएको छ । आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ’सेन्ट लग फर्मुला’ मा राखेर अहिले दलहरूले प्राप्त गरेको मतको आधारमा सिट बाँडफाँट गर्दा ५७ सिट पुग्ने देखिन्छ ।
यदि आयोगले यही सिट सङ्ख्या कायम ग¥यो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइका लागि २ सिट कम हुने देखिन्छ ।
यदि समानुपातिकमा उसलाई ५७ सिट भाग लागेको अवस्थामा रास्वपाको १८२ सिट हुन्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सिट आवश्यक पर्छ । एक स्वतन्त्र सांसद महाविर पुन भने रास्वपाकै समर्थनसमेत पाएर निर्वाचित भएका छन् ।
रास्वपाले समानुपातिकमा कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मत मध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ । यो कुल मतको करिब साढे ४७ प्रतिशत भन्दा बढी हो ।
समानुपातिक अन्तर्गतबाट सिट पाउने ६ वटा पार्टी हुने भएका छन् । दोस्रो पार्टीको रूपमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा २० सिट पाउने देखिएको छ । कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । कांग्रेसले १७ लाख ५४ हजार ५२ मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ । गत चुनावको भन्दा करिब आधा बढी कम सिट हो । यसअघि कांग्रेसको ८९ सिट थियो ।
एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ९ सिट जितेको छ । अब प्रतिनिधि सभा २५ सिट हुनेछ । यो सङ्ख्या गत प्रतिनिधि सभाको भन्दा तेब्बर कम सिट हो ।
यसअघि एमालेको ७९ सिट थियो । गत चुनावमा समानुपातिकमा पहिलो बढी मत ल्याउने दल रहेको एमाले यसपटक ५० प्रतिशत मत गुमाउँदै १४ लाख ५१ हजार ७५९ मा सीमित भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिएको छ । उसले प्रत्यक्षमा ८ सिट जितेको छ । अब प्रतिनिधिसभामा नेकपाको १६ सिट हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५ सय ८२ मत पाएको छ ।
यो प्रतिनिधिसभामा श्रम संस्कृति र राप्रपाले समानुपातिकमा ४/४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले कुल ५ सिट हुनेछ ।
निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना सकिएकाले अब त्यसको सिट बाँडफाँटको काम अगाडि बढ्ने छ । अब दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न आयोगले पत्राचार गर्ने छ ।
दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनस् हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।











