काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको ‘क्लाईमेक्स’ (उत्कर्ष) र ‘कोल्याप्स'(पत) को समयबारे आङ्कलन गरेको स्मरण गरेका छन् । वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको बताएका छन् ।
बास्कोटाले लेखेका छन्, ‘पाँच वर्षअघि मैले भनेको थिएँ– यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभूतपूर्व उत्साह थियो। तर विचार, सङ्गठन र व्यवहार दुई मितको अधीनस्थ थिए र एकताको आधार कमजोर ।’
तत्कालीन नेकपाको नेतृत्व तहमा देखिएको कार्यशैलीप्रति लक्षित गर्दै उनले सोभियत सङ्घको विघटनबाट पाठ नसिक्नु र चिनियाँ मोडलको नक्कल गर्न खोज्नु ‘सुपरफ्लपु भएको टिप्पणी गरेका छन् । ‘सोभियत सङ्घबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो,’उनले भनेका छन् ।
कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ ।’











