काठमाडौं । उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ ।

यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका थिए । तामाङ १४ हजार ८०२ मतसहित विजयी भएका थिए ।
निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेको पाइएको हो । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ ।
उक्त कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन् । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी नै खारेज गरेको थियो ।












