काठमाडौं । रोजगारीका लागि विदेश पुगेका दुई नेपाली युवाको क्रोएसियामा भएको सडक दुर्घटनामा मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा मेचीनगर-१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका-२ का २७ वर्षीय भुवन विक रहेका छन्।
उनीहरू रोजगारीका लागि बोस्निया पुगेका थिए । त्यहाँबाट घुम्नका लागि क्रोएसिया जाने क्रममा बाटोमै भएको दुर्घटनामा परेर उनीहरूको ज्यान गएको गैरआवासीय नेपाली संघ एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए।
तामाङका अनुसार दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको थियो। मृतक दुवै जनाको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
उनका अनुसार भियनास्थित नेपाली दूतावाससँग यस विषयमा समन्वय भइरहेको छ । एउटा शव नेपाल ल्याउन मात्रै ६ हजार युरोभन्दा बढी खर्च लाग्ने भएकाले त्यसका लागि पहल भइरहेको उनले बताए । शव नेपाल ल्याउन सहजीकरणका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी भएको तामाङले जानकारी दिए ।
बोस्नियाबाट क्रोएसिया घुम्न जाने समूहमा तीन नेपाली र एक पाकिस्तानी नागरिक रहेका थिए । दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।











