Logo
Logo

आगामी एक वर्षका लागि भारतसँग किन्ने विद्युत्‌को मूल्य निर्धारण


0
Shares

पोखरा । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा नयाँ मूल्यसहितको सहमति भएको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) को १७औँ बैठकले यस्तो सहमति गरेको हो । बैठक फागुन २८ र २९ गते पोखरामा सम्पन्न भएको हो ।

दुवै पक्षबीच भएको विस्तृत छलफल तथा विचार–विमर्शपछि गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जानकारी दिएको छ । अघिल्लो वर्ष पनि सोही दरको वृद्धिदर थियो ।

उक्त सहमतिअनुसार चालु वर्षका लागि १३२ के.भी. प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रतियुनिट ८.२२, ३३ के.भी. स्तरमा प्रतियुनिट ८.९१ तथा ११ के.भी. स्तरमा प्रतियुनिट ९.५५ कायम गरिएको छ । साथै विद्युत् खरिददरको संरचनासम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको छ ।

यस सहमतिले आगामी चैत तथा वैशाख महिनामा पर्ने सुक्खा मौसममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार ‘मेगावाट आवर’ विद्युत् आयात गरिरहेको छ । सुक्खा मौसममा ऊर्जा माग बढ्दै जाँदा उक्त परिमाण अझ बढ्ने अनुमान गरिएको छ ।

बैठकमा नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि पीईसीमार्फत विद्युत् खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको विषयमा पनि छलफल भएको प्राधिकरणले जानकारी दिएको छ ।

तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यो संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको एक महत्त्वपूर्ण आधारका रूपमा स्थापित भएको पनि प्राधिकरणको भनाइ छ । बैठकले आगामी एक वर्षका लागि विद्युत् खरिददर निर्धारण गरेको पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रेदेव शाक्यले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले नेतृत्व गरेका थिए । भारतको तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका बोर्ड सदस्य विजयकुमार सिंहले नेतृत्व गरेका थिए । प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत् खरिददरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो । समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत् खरिददरमा सहमति गर्न तथा आवश्यक सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।

वार्ताका क्रममा भारतको पक्षबाट विद्युत् उत्पादन तथा आपूर्तिसँग सम्बन्धित लागतमा वृद्धि भएको उल्लेख गर्दै विद्युत् खरिददरमा ५.५ प्रतिशत वृद्धि गरिनुपर्ने प्रस्ताव राखिएको थियो । नेपालको पक्षबाट भने भारतीय विद्युत् बजारको अध्ययन तथा उपलब्ध बजार सूचकांकका आधारमा हालको बजारदर अपेक्षाकृत कम रहेको उल्लेख गर्दै दर वृद्धिको आवश्यकता नरहेको तर्क प्रस्तुत गरिएको थियो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर संजीव राय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको पनि बैठकमा उपस्थिति रहेको थियो ।

बैठकको अन्त्यमा दुवै पक्षले यस सहमतिले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउँदै क्षेत्रीय ऊर्जा सुरक्षालाई प्रवर्द्धन गर्ने तथा दुई देशबीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्