काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएको ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास परिसर अझै खण्डहर जस्तै छ । संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उपसभामुखका लागि बनाइएको यो परिसरमा मन्त्रीहरू बस्न थालेको एक वर्ष मात्र पुगेको थियो । तर, २३ र २४ भदौको जेनजी आन्दोलनमा यो परिसर प्रमुख निशानामा प¥यो ।

२७ ब्लकमध्ये २६ मा आगजनी र तोडफोड भयो । रक्षामन्त्री निवास रहेको एक मात्र भवनमा सामान्य क्षति पुग्यो । त्यसलाई मर्मत गरी रङरोगन गरेपछि अहिले मन्त्री माधवप्रसाद चौलागाईं त्यहाँ बसिरहेका छन् । बाँकी ११ ब्लकको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । असार मसान्तसम्म काम सक्ने गरी ठेक्का दिने तयारी छ ।
चालु आर्थिक वर्षभित्र यी ब्लक प्रयोगयोग्य बनाउने लक्ष्य छ । तर, नयाँ सरकार गठनसँगै नयाँ मन्त्रीहरू आउने भएकाले मन्त्रालयले वैकल्पिक व्यवस्था गर्नुपर्ने भएको छ । मन्त्रीमण्डल कति सदस्यीय हुन्छ भन्ने हेरेर मात्र योजना बनाइने भएको छ । काठमाडौंमा घर भएका मन्त्रीलाई निजी निवासमै सुरक्षा सुविधा दिने, घर भाडामा लिएर छुट्टाछुट्टै वा सामूहिक आवास बनाउने जस्ता विकल्पमा छलफल भइरहेको छ ।
अब उच्चस्तरीय निर्णयपछि मात्र अन्तिम व्यवस्था हुने छ । बाँकी ब्लकको पुनर्निर्माण पनि क्रमशः अगाडि बढाइने छ । मन्त्री निवासका पहिलो ११ ब्लक पुनर्निर्माणमा मात्र ११ करोडभन्दा बढी लाग्ने अनुमान छ । यसैगरी, नयाँ बानेश्वरको संसद् भवन पनि आन्दोलनमा जलेर ध्वस्त छ । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन ६ वर्ष बित्दा पनि पूरा भएको छैन । अहिले काम तीव्र पारिएको छ । ७ सय सिट क्षमताको प्रतिनिधिसभा हल, २९० सिट राष्ट्रिय सभा बाल्कोनी, दल कार्यालय, पुस्तकालय, क्यान्टिन, पार्किङलगायत पूर्वाधारसहितको यो भवनबाट चाँडै बैठक सञ्चालन गर्ने आशा छ ।











