
काठमाडौंै । स्याङ्जा निर्वाचन क्षेत्र २ का कांग्रेस उम्मेदवार भागवतप्रकाश मल्लले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जामार्फत मल्लका प्रतिनिधि अर्जुनप्रसाद खनालले खर्च विवरण पेस गरेका हुन् । निर्वाचन सम्पन्न भई मतगणना सकिएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले चुनावी खर्च सार्वजनिक गरी आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार मल्लले कार्यालयमा खर्च विवरण बुझाएका हुन् ।
आयोगले स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवारलाई अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न अनुमति दिएको थियो । सोही सीमाभित्र रहेर मल्लले कुल १० लाख ४० हजार १५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
उनले मनोनयन दर्तादेखि प्रचारप्रसार, इन्धन, सम्पर्क कार्यालय सञ्चालन, सञ्चार तथा अन्य व्यवस्थापनमा खर्च भएको उल्लेख गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जा जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका २४ जनामध्ये खर्च विवरण सार्वजनिक गरी आयोगमा बुझाउने मल्ल पहिलो उम्मेदवार बनेका छन् । त्यस क्षेत्रमा रास्वपाका उम्मेदवार झविलाल डुम्रे निर्वाचित भएका छन् ।











