
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।
अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदरको माग गर्दै दायर रिटमा सुनुवाइका लागि न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्धको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध रिटमाथि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आजका लागि पेसी तोकेको थियो ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ ।
रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् ।
महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन्











