काठमाडौं । महानायक राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार गरिएको पाइएको छ । उनको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्र (डकुमेन्ट्री) का नाममा १२ लाख ७७ हजार २५० रुपैयाँ हिनामिना गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । यसै प्रकरणमा आर।जे। ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ ।
आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनमा चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । सो रकममध्ये १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको भए पनि सार्वजनिक खरिद ऐन तथा नियमावलीको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ ।
अनुसन्धानका क्रममा प्रतिस्पर्धाबिना प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी अर्थात् ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैङ्क ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको खुलेको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ।
यस्तै, चलचित्र निर्माणका लागि पेश गरिएका बिलहरू शङ्कास्पद तथा नक्कली रहेको र काम नगरी सरकारी रकम हिनामिना गर्न योजनाबद्ध रूपमा मिलेमतो गरिएको पनि आयोगले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू तथा अन्य प्रतिवादीलाई लाभ पुर्याउने उद्देश्यले उक्त कार्य गरेको ठहर गर्दै उनलाई थप सजायको मागसमेत गरिएको छ ।











